उद्योगमन्त्री भण्डारीद्वारा हेटौंडा सिमेन्ट र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन​

२ भाद्र २०८१, आईतवार ०७:४०

काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

शनिबार हेटौंडा सिमेन्ट उद्योगको निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा सङ्घीय सरकारलाई अवगत रहेको र वर्तमान अवस्थाबारे जानकारी लिँदै संघीय सरकारले चरणबद्ध रुपमा गृहकार्य गरिरहेको बताए ।

उद्योग व्यवस्थापन समितिले पनि उद्योगमा अनावश्यक खर्च कटौती गरी उद्योगको प्रतिएकार्इ लागत न्यूनीकरण गरी प्रतिष्पर्धात्मक बजारमा उपस्थित हुनुपर्ने मन्त्री भण्डारीले जोड दिए ।

समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका पुराना प्रविधिका मशिन हटाएर नयाँ प्रविधिका मशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताए ।

अध्यक्ष भण्डारीले हेटौंडा सिमेन्ट उद्योगको उत्पादनको साख उपभोक्ता माझ कायमै रहेकाले उद्योगलाई कुनै पनि हालतमा निरन्तर सञ्चालनमा ल्याउन सरकारको सहयोगको अपेक्षा रहेको बताए ।

उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले हेटौंडा सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटका कारण पटकपटक बन्द गर्नु परिरहेको बताए । उत्पादनलाई थप वृद्धि गर्न पुराना प्रविधिका मशिनबाट काम लिन नसकिने अवस्था रहेकाले नयाँ प्रविधिका मशिन जडान गर्न सरकारले सहयोग गर्नुपर्ने उनको माग छ ।

हेटौंडा उपमहानगर–१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि मन्त्री भण्डारीले अवलोकन गरे। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका कारण मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्न वन मन्त्रालयले अवरोध गरिरहेको छ।

मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढाउने जानकारी दिए। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक संगीता कुँवर, हेसिउली व्यवस्थापन समिति अध्यक्ष भण्डारीले मयुरधाप औद्योगिक क्षेत्रको हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए।

मन्त्री भण्डारीले मकवानपुर उद्योग वाणिज्य संघमा उद्योगी तथा व्यवसायीसँग वर्तमान समसामयिक समस्याबारे छलफल गरे। उपमहानगरले चालू आर्थिक वर्षदेखि नगरपालिकाका विभिन्न शीर्षकका करका दर एक सय ५३ प्रतिशतसम्म बढाएर उद्योगी व्यवसायीलाई दुःख दिएको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको गुनासो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*