‘पाथीभरामाथि’ एकपछि अर्को प्रहार, लालिगुराँसको फँडानीपछि ‘पुरातात्त्विक महत्वका’ घण्टी बेच्न टेण्डर
काठमाडौं । हिन्दु र किराँतहरुको आस्थाको धरोहर पाथीभरा मन्दिरको सभ्यता मास्न राज्य संयन्त्रबाटै एक पछि अर्को प्रहार हुन थालेको छ । राष्ट्रय फूलका रुपमा रहेको लालिगुराँस सखाप पारेको घटना सेलाउन नपाउँदै परातात्विक महत्वका पूराना घण्टी लिलाम गर्ने खेलो सुरु भएको छ ।
पर्यटन मन्त्रालय अन्तर्गतको पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सिलबन्दी बोलपत्र पेश गर्न भनी आह्वान गरेको छ । ‘पुराना घण्टी जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा सिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्नुपर्ने भएको हुनाले इच्छुक व्यक्ति वा फर्महरूबाट पुस १३ गते १२ः३० बजेभित्र सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ’, सूचनामा भनिएको छ ।
पुरानो घण्टी प्रतिकिलो ३८० रुपैयाँमा बिक्री हुने र लिलाम बिक्री हुने सामान हेर्न बुझ्न चाहनेले मङ्सिर १६ गतेदेखि पुस १२ गतेसम्म विदाको दिनबाहेक कार्यालयमा सम्पर्क गर्न सक्ने समितिले जनाएको छ ।
त्यसरी विक्री गर्न लागिएका घण्टीमा केही पुरातात्त्विक महत्वका समेत रहेको बुझिएको छ । समितिका अध्यक्ष रक्की थेबे (लिम्बु)ले भने दुई चार वर्ष यता चढाइएका घण्टीहरु लिलाम विक्री गर्न लागिएको बताए ।
लिलाम विक्रीका दौरान पुरातात्विक महत्वका घण्टी वा सरसामान सुरक्षित रहन्छन् भन्ने के ग्यारेन्टी ? जवाफमा उनले भने, ‘त्यो किटबाट बनेका घण्टीहरु हामीले चिनेर पहिल्यै छुट्याएर राखेका छौँ । ५० वर्ष भन्दामाथि समय नाघेका घण्टीहरु धेरै त छैनन् । जति छन् सुरक्षित छन् ।’
प्रहरी प्रशासन लगाएर कुरुप पारिँदै पाथीभरा
वर्तमान सरकारले केबलकार निर्माणको काम अघि बढाउन दिएसँगै शान्त पाथीभरामा अशान्ति मच्चिएको छ । किराँत सभ्यतासँग जोडिएको पाथीभरामा मुनाफाखोरहरुको प्रवेश घातक भएको भन्दै स्थानीय प्रतिकारमा उत्रिएका छन् ।
यद्यपि, सरकारले प्रहरी प्रशासनको पहरा दिएर केबलकार निर्माणको कामलाई अघि बढाउन सहयोग गरिरहेको छ । पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारीहरुका अनुसार स्थानीयले निर्माण कम्पनी र सरकारको कुरा मानिरहेका छैनन्, तर त्यहाँ निषेधाज्ञा जारी गरेर भए पनि निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ । अहिले पनि त्यहाँ २४सै घण्टा प्रहरी परिचालन गरिएको छ ।
सत्ताधारी एमाले, कांग्रेस र विपक्षी माओवादी केन्द्रको राजनीतिक संरक्षणमा केबलकार निर्माणको नाममा फुङलिङमा सयौँको संख्यामा राष्ट्रिय फूल लालिगुराँसका रुख काटिएका छन् ।
अग्रिम रुपमा एउटा लालिगुराँसको सट्टा १५ वटा बोट रोपे मात्रै रुख काट्न पाइने शर्त थियो । तर, नयाँ विरुवा समेत नरोपेर अन्धाधुन्ध लालिगुराँसका रुख मार्ने काम भएको स्थानीयले बताएका छन् । यसमा पाथीभरा क्षेत्र विकास समिति, फुङलिङ नगरपालिका र डिभिजन वन कार्यालय ताप्लेजुङकै समेतको संलग्नता रहेको स्थानीयबासीको जिकिर छ ।
ताप्लेजुङ काफ्लेपाटीबाट एक किलोमिटर पूर्वमा रहेको स्थान, माथिल्लो फेदीसहित पाथीभराका विभिन्न क्षेत्रमा ती रुखहरु काटिएको हो । हालसम्म अन्दाजी २ सय बढी रुख काटिएका बताइएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले केवलकार बनाउने कम्पनीले डीपीआरभित्र परेका गुराँसका रुखहरु काटेको बताएका छन् । हालैमात्रै ‘राष्ट्रिय जनावर गाई काटिएको’ विषयमा व्यक्तिहरु पक्राउ पर्दा राष्ट्रिय फूलको जङगल नै विनास गरिँदा सरकार आफैंले झन् सहयोग गरेको विषयले आफुहरु चकित भएको स्थानीय संरक्षणकर्मीहरुले बताएका छन् ।
यो पनि,