असोजको बाढीले तनहुँमा एक करोड बढीको बालीमा क्षति

२३ मंसिर २०८१, आईतवार १३:३७

काठमाडौँ । गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा एक करोड आठ लाख आठ हजार तीन सय ७० रुपैयाँ बराबरको क्षति भएको हो ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा ८६ लाख ७० हजार पाँच सय ७० रुपैयाँ बराबरको नोक्सान भएको छ ।

त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबालीमा बाढी र पहिराले शतप्रतिश क्षति हुँदा १५ लाख ९१ हजार आठ सय रुपैयाँ र एक रोपनीमा लगाइएको कोदो पहिराले ५० प्रतिशत क्षति हुँदा ६० हजार रुपैयाँ नोक्सान भएको छ । देवघाट गाउँपालिकामा पाँच रोपनीमा धानबाली बाढीले शतप्रतिशत क्षति हुँदा दुई लाख ४० हजार रुपैयाँको नोक्सान भएको छ ।

देवघाट गाउँपालिकाको वडा नं २, ३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै, बोडी, मास, कोदो, काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा ५० हजार रुपैयाँ र पहिराका कारण एक रोपनीमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा रु एक लाखबराबरको नोक्सान भएको छ ।

प्राकृतिक विपद्बाट खेतबारीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषि विकास निर्देशानालयलाई जानकारी गराएको केन्द्रले जनाएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*