कुमारी क्यापिटल र भारतीय ध्रुव क्यापिटलबीच वैदेशिक लगानी प्रवर्द्धनमा सहकार्य

२८ मंसिर २०८१, शुक्रबार ०७:११

काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र भारतको ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडबीच नेपालमा वैदेशिक लगानी प्रवर्द्धनमा सहकार्य गर्ने सम्झौता भएको छ।

यो सम्झौताअनुसार कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत लगानी अवसरहरूको पहिचान, कानुनी तथा वित्तीय परामर्श, परियोजनाको मूल्यांकन र ध्रुव क्यापिटलको लगानी प्रक्रियामा सहयोग गर्नेछ।

कुमारी क्यापिटल नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन र संस्थागत परामर्श प्रदान गर्दै आएको संस्था हो। उता ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड भारतमा अवस्थित एक प्रतिष्ठित गैर-बैंकिङ वित्तीय कम्पनी हो। यो कम्पनी भारतीय रिजर्भ बैंकबाट इजाजतप्राप्त रहेको र नेपालमा सूचीकृत तथा गैर-सूचीकृत कम्पनीहरू, बैंक-वित्तीय संस्थाहरूको संस्थापक शेयर तथा जलविद्युत् परियोजनामा लगानी गर्ने लक्ष्य राखेको छ।

सम्झौताअन्तर्गत यी लगानीहरूले नेपालको ऊर्जा, वित्तीय र सामाजिक क्षेत्रमा दिगो विकासमा टेवा पुग्ने विश्वास लिएको छ।

सम्झौता हस्ताक्षर समारोहमा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस सहकार्यले नेपालको क्यापिटल मार्केट क्षेत्रमा नयाँ आयाम थप्ने र वैदेशिक लगानीलाई सहज बनाउन मद्दत गर्ने बताए।

ध्रुव क्यापिटलका प्रतिनिधि रितेश साहले पनि नेपालजस्तो सम्भावनायुक्त बजारमा लगानी गर्न उत्साहित रहेको र कुमारी क्यापिटलसँगको साझेदारीले लगानी प्रक्रियालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*