करोडको बीमा गरेर मालिकले नै पोखरास्थित आफ्नै पसलमा आगो लगाए, ९४ लाखको दावी गर्दा प्रहरीको फन्दामा

२५ फाल्गुन २०८१, आईतवार १९:४३

काठमाडौं । बीमा कम्पनीलाई झुक्याएर बीमा दावी गर्ने उद्देश्यले आफ्नै पसलमा आगो लगाउने कार्यमा संलग्न एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
मधेश प्रदेशको पर्सा जिल्लास्थित जगरनाथपुर गाउँपालिका ३ घर भएका २८ वर्षीय रमेश शर्मा लोहारले गत फागुन १६ गते आफ्नै पसलमा बीमा दावी रकम लिने उद्देश्यले आगो लगाएको आरोपमा प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बीमा दावी रकम लिने उद्देश्यले आफ्नै पसलमा आगो लगाएर क्षति पुर्याएको आरोपमा लोहारलाई पक्राउ गरिएको पुष्टि गर्दै जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरिएको बीमापोष्टलाई जानकारी दिए ।

लोहारले पोखराको न्यूरोडस्थित ब्लक र टिनको टहरामा आईटी हब नामक पसल एक महिना अघिमात्र खोलेका थिए । पोखरामा दुई वटा कम्प्युटर मर्मत तथा होलसेल पसल सञ्चालन गर्दै आएका उनले अर्को पसल रहेको ताल्चोकको पसल भने बीमा गरेका थिएनन् । नयाँ पसल खोलेर उनले शिखर इन्स्योरेन्स कम्पनीको लेखनाथमा रहेको शाखाबाट एक करोड रुपैयाँको बीमा गरेका थिए । शिखर इन्स्योरेन्स कम्पनीले लेखनाथ शाखामा उक्त पसलको बीमा गरिएको र ओगालागीपछि बीमा दावी गर्न आएको पुष्टि गरेको छ । लगत्तकै कम्पनीको लेखनाथ शाखाले आगोलागी शंकास्पद रहेको भन्दै प्रहरीलाई अनुसन्धान गर्न समेत आग्रह गरेको थियो ।

उनको पसलमा गत फागुन १६ गते आगोलागी भएको थियो । घटनाको ३ दिन पछी अभियुक्त लोहारले शिखर इन्स्योरेन्स कम्पनीमा बीमा दावी गर्न पुगेका थिए । लोहारले बीमा कम्पनीमा दिएको निवेदनमा मोबाइल चार्जमा राखी वासरुम गएर फर्किदा केही पड्किएको आवाज आएको र अनि आगलागी भएको व्यहोरा उल्लेख गरेका छन् ।

कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार घटनालाई सुरुबाटै शंकास्पद रुपमा हेरेर अनुसन्धान गरिरहेको बताउँदै थप अनुसन्धान गरिने बताए । प्रहरी र बीमा कम्पनी त्यतिबेला शंकामा पर्यो जब दुई दिनदेखि उनको पसल बन्द थियो । बन्द भएको पसलमा तेस्रो दिन आगो लागेको थियो । पसलमा २ जना कामदार राखेका थिए । तर आगलागी हुँदा उनीहरू दुवै जना बिदामा थिए । अर्को पसल भने खुलेकै थियो । कामदारलाई छुट्टीमा राखेर पसल बन्द भएको र पछि आगो लागी भएको र बीमा दावी समेत मागेको घटनाको प्रहरीले सुक्ष्म निगरानी गरेको कास्की प्रहरीको भनाई छ ।

सञ्चालक लोहारले प्रहरीमा ९४ लाख रुपैयाँको क्षति भएको भन्दै निवेदन दिएको प्रहरीले जनाएको छ । सामान्य पसलमा आगो लाग्दा त्यति ठूलो क्षतिको निवेदन आएपछि सुरुमा प्रहरी पनि झस्किएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*