आज होली पर्व हर्षोल्लासका साथ मनाइँदै
२९ फाल्गुन २०८१, बिहीबार ०६:५६

काठमाडौं । आज फागु पूर्णिमा अर्थात् होली पर्व नेपालभर हर्षोल्लासका साथ मनाइँदैछ। रंग, उमङ्ग र आपसी मेलमिलापको प्रतीक मानिने यो पर्व प्रत्येक वर्ष फागु पूर्णिमाको दिन विशेष रूपमा मनाइन्छ।
नेपालको पहाडी तथा हिमाली क्षेत्रमा आज होली मनाइँदैछ भने तराई क्षेत्रमा भोलि अर्थात् चैत १ गते यो पर्व मनाइनेछ। होली हिन्दू परम्पराअनुसार मनाइने महत्वपूर्ण चाड हो जसलाई भगवान् विष्णुको भक्त प्रह्लादसँग जोडिएको धार्मिक मान्यता रहेको छ।
आज बिहानैदेखि रंग, अबिर र पानी छ्याप्दै होली मनाउन थालिएको छ। राजधानीको बसन्तपुर दरबार क्षेत्र, ठमेल लगायतका स्थानहरूमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँने गरिन्छ।