आवेदन अपर्याप्त भएपछि साझा यातायातले सीईओका लागि दोस्रोपटक गर्यो दरखास्त आह्वान

काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रोपटक दरखास्त आह्वान गरेको छ। यसअघि गत पुस २९ गते गरेको दरखास्त आह्वानमा पर्याप्त आवेदन नपरेपछि यातायातले पुनः दरखास्त आह्वान गरेको हो।
पुनः गरिएको दरखास्त आह्वानमा आवेदन दिने म्याद आगामी २१ दिनसम्म तोकिएको छ। साझा यातायातको सीईओका लागि कम्तीमा ३ जनाको स्वीकृत आवेदन पर्नु पर्ने व्यवस्था रहेको छ। तोकिएको संख्यामा आवेदन नपरेपछि दोस्रोपटक सूचना जारी गरिएको हो।
यसका लागि व्यवस्थापन, कानून, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहेको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै सरकारी सेवा वा कानून बमोजिम दर्ता भएको संघसंस्थामा अधिकृत स्तरमा कम्तीमा राजपत्रांकित द्वितीय श्रेणी वा दसौं तह वा सो सरहेको पदमा सात वर्ष काम गरेको अनुभव र ३५ वर्ष उमेर पूरा गरेको हुनु पर्नेछ।