नागरिक लगानी कोष ३५औं वर्षमा, पूर्ण डिजिटलाईजेसन गर्ने प्रतिवद्धता

४ चैत्र २०८१, सोमबार ११:४५

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो स्थापनाको ३४ वर्ष पूरा गरी ३५औं वर्षमा प्रवेश गरेको छ। कोषले आज चैत ४ गते नयाँ बानेश्वरस्थित कोषको आफ्नै भवनमा भव्य कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो।

नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित नागरिक लगानी कोषले २०४८ माघ १ गतेदेखि कारोबार शुरू गरेको थियो। देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्न र पूँजी बजारमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य सहित कोषको स्थापना भएको हो।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्दै देशको आर्थिक समृद्धि र पूर्वाधार क्षेत्रको विकासका लागि नेपाल सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमलाई मार्गदर्शनका रूपमा अवलम्बन गर्दै नागरिक लगानी कोष अघि बढिरहेको बताए। उनले कोषले सरकारको प्राथमिकता क्षेत्रमा थप लगानी गरेर आर्थिक लक्ष्य पूरा गर्न उल्लेखनीय योगदान पुर्याउन उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए।

साथै कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा सूर्य बहादुर थापाले अबको केही समयमा कोष पूर्ण अटोमेसनमा गई सहभागीलाई अनलाइन प्रणालीबाटै सेवा दिन लागिपरेको बताए। उनले शुभकामना सन्देश मार्फत् देश र नागरिकको आर्थिक समृद्धि, सामाजिक न्याय तथा सुशासनको अभिवृद्धिमा समेत कोषले प्रत्यक्ष र परोक्ष रूपमा योगदान पुर्याउँदै आइरहेको बताए।

त्यस्तै कोषका कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले शुभकामना मन्तव्य दिँदै आगामी दिनमा जोखिम विश्लेषण गर्दै लगानी विविधिकरण गर्न, सरकारले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्न, उत्पादनशील क्षेत्रमा लगानी बढाउन र कोषको कामलाई डिजिटलाईजेसन गर्न कोष क्रियाशील रहेको बताए। साथै उनले आगामी दिनमा अझ सरल र चुस्त सुविधा दिने, कोषको दायरा विस्तार गर्ने, शेयरधनीलाई उचित लाभांश दिँदै पूर्वाधार निर्माण, कृषि उद्योग जस्ता क्षेत्रमा लगानी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

कोषको कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजनाजस्ता कार्यक्रम कार्यान्वयनमा रहेको छ। कोषको अधिकृत पूँजी ८ अर्ब, जारी पूँजी ८ अर्ब र चुक्ता पूँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ। कोषको शेयरमा २३.३४ प्रतिशत नेपाल सरकार, ३१.५५ प्रतिशत राष्ट्रिय बीमा संस्थान, १० प्रतिशत नेपाल स्टक एक्सचेन्ज, १५.११ प्रतिशत अन्य बैंक तथा वित्तीय संस्था र २० प्रतिशत शेयरमा सर्वसाधारणको स्वामित्व रहेको छ।

कोषले चालू आवको पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार २ खअर्ब ६४ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ। सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ७३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ। यस अवधिमा कोषको लगानी १२.६४ प्रतिशतले वृद्धि भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*