अमेरिकी कर नीतिले जापानी कार उद्योगमा अनिश्चितता बढायो

६ चैत्र २०८१, बुधबार १५:५१

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका प्रमुख कार उत्पादक कम्पनीहरू उत्पादन कटौती गर्न बाध्य हुनसक्ने बताएका छन्। जापानको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने अटोमोबाइल उद्योग झन्डै १० प्रतिशत रोजगारी क्षेत्रसँग जोडिएको छ, जसका कारण अमेरिकी नीतिको असरले व्यापक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

टोयोटा विश्वकै सबैभन्दा बढी बिक्री हुने कार उत्पादक कम्पनी हो। जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) का अध्यक्ष मासानोरी कातायामाले टोकियोमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी व्यापार नीतिको प्रभावबारे चेतावनी दिएका छन्। उनले ट्रम्प प्रशासनले जापान, मेक्सिको र क्यानडाका निर्यातकर्तामाथि कर लगाउने योजना अघि बढाएमा दुवै देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताएका छन्।

ट्रक उत्पादक इसुजु मोटर्सका प्रमुख कार्यकारी समेत रहेका कातायामाले कर लगाइए उत्पादनमा उल्लेखनीय परिवर्तन आउन सक्ने बताएका छन्। जापानले सन् २०२४ मा अमेरिकामा २१.३ ट्रिलियन येन (१४२ बिलियन अमेरिकी डलर) को निर्यात गरेको थियो, जसमा एक तिहाइ हिस्सा सवारी साधनको रहेको छ।

जापानी मन्त्रीहरूले अमेरिकी अधिकारीहरूसँग स्टील र सवारी साधनमा कर छुटका लागि निरन्तर लबिङ गर्दै आए पनि हालसम्म कुनै सकारात्मक प्रतिक्रिया प्राप्त भएको छैन। अटोमोबाइल उद्योगका अधिकारीहरूका अनुसार सन् १९८६ मा जापानबाट १३ लाख ७० हजार सवारी साधन अमेरिका निर्यात गरिएका थिए।

कातायामाले अमेरिकी मोटर चालकहरूलाई कार निर्माताहरूको पूर्ण उत्पादन लाइन आवश्यक पर्ने भन्दै जापानबाट हुने निर्यात महत्वपूर्ण रहेको बताए। अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितताका कारण लगानीसम्बन्धी निर्णय कठिन भइरहेको उनको भनाइ छ। साथै, उनले जापानी कार कम्पनीहरूले अमेरिकामा रोजगारी सिर्जना गर्दै आएको र अमेरिकी कर्पोरेट प्रणालीसँगै काम गरिरहेको पनि उल्लेख गरे। जामाले जापानका १४ प्रमुख कार तथा मोटरसाइकल उत्पादक कम्पनीहरूलाई प्रतिनिधित्व गर्ने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*