नक्कली अनुभव प्रमाणपत्रले नियुक्ति खाएको भन्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध नक्कली अनुभव प्रमाणपत्रको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नागरिक समाजका समूहले २०८२ साल वैशाख ३ गते उजुरी दर्ता गराएका हुन्।
उजुरी अनुसार अध्यक्ष भण्डारीले नियुक्तिका बेला पेश गरेका अनुभव प्रमाणपत्रहरूमा एकै समयमा नेपाल र अफ्रिकाको बुरुण्डी देशमा कार्यरत रहेको देखाइएको छ।
उनले नेपालको स्पाइस नेपाल, मेरो मोबाइल (हालको एनसेल) मा २००८ जनवरी २० सम्म काम गरेको भनेका छन्। तर उनले १ जनवरी २००८ देखि १९ जनवरी २०१६ सम्म बुरुण्डीको लासेल एसयु नामक कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव पनि पेश गरेका छन्।
यसरी एउटै समयमा दुई फरक देशका दुई फरक कम्पनीमा काम गरेको देखाउने प्रमाणपत्र प्रस्तुत गर्नु शंकास्पद रहेको उजुरीमा उल्लेख छ। साथै, लासेल एसयु कम्पनी सन् २०२२ मै बन्द भइसकेको र यसको प्रमाणपत्रप्रति अझै शंका बढेको उजूरीमा उल्लेख गरिएको छ।
अध्यक्ष भण्डारी तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका सल्लाहकार रहेका बेला प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए। त्यतिबेला नै उनको नियुक्तिको प्रक्रियालाई लिएर नैतिकताको प्रश्न उठेको थियो।
उजुरीमा राज्यलाई झुटो प्रमाणपत्र देखाएर नियुक्ति लिएको भन्दै तत्काल छानबिन गरी आवश्यक कारबाहीको माग गरेका छन्।













