आरआर क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनको संयुक्त इजलासले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने अन्तरिम आदेश जारी गरेको छ । अदालतले यथाशीघ्र निर्वाचनको मिति तोकी आवश्यक प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश श्यामकुमार भट्टराई र न्यायाधीश टीकाराम आचार्यको इजलासले रिट नम्बर ०८१-W0-२१२६ मा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । रिट निवेदक रविन राज खत्रिको तर्फबाट अधिवक्ताहरू उमेश प्रसाद सिटौला, आधिन कुमार प्याकुरेल, विवेक सौउद, शास्वत कंडेल र कृष्ण भण्डारी अदालतमा उपस्थित थिए । विपक्षी रत्नराज्य लक्ष्मी क्याम्पसको तर्फबाट अधिवक्ता गजेन्द्र खनालले बहस गरेका थिए ।
मुद्दाको सन्दर्भमा, चैत १६ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएपनि सो मितिमा निर्वाचन हुन नसकेको र हालसम्म नयाँ मिति तय नभएको उल्लेख गरिएको छ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा १२(८) अनुसार, निर्वाचन स्थगित भएमा १५ दिनभित्र नयाँ मिति तोक्नुपर्ने प्रावधान भए पनि त्यो पालना नभएको र चैत १८ गते चुनाव नगर्ने निर्णय गरिनु कानुनविपरीत रहेको दाबी गरिएको थियो ।