सामाजिक सञ्जाल समयमै दर्ता नभए प्रतिबन्ध लाग्ने : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू सरकारले तोकेको समयभित्र दर्ता नभए प्रतिबन्धित हुने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारीका समूह नेपालको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा क्रियाशील सम्पूर्ण सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई देशको कानुन अनुसार दर्ता अनिवार्य गरिएको उल्लेख गर्दै तोकिएको अवधि सकिएपछि कार्यान्वयनमा कडाइ गरिने बताए ।
सरकारले सामाजिक सञ्जाल दर्ताका लागि दिएको समयावधि सकिन अब केही दिन मात्र बाँकी रहेको उल्लेख गर्दै उनले फेसबुक जस्ता ठूला प्लेटफर्महरू अझै दर्तामा नआएकोप्रति चिन्ता व्यक्त गरे । मन्त्री गुरुङका अनुसार सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन प्रेस स्वतन्त्रता कुण्ठित गर्ने उद्देश्यले होइन, तर जिम्मेवार सञ्चार वातावरण निर्माणका लागि ल्याइएको हो ।
त्यस अवसरमा उनले चैत्र १५ गते काठमाडौँमा राजसंस्थाको पुनःस्थापनाको मागसहित भएको प्रदर्शनलाई संविधान विरोधी कार्यको संज्ञा दिँदै त्यस्तो आन्दोलनले हिंसात्मक रुप लिएकोले संलग्नहरूलाई कानुनी दायरामा ल्याइने बताए । ‘शान्तिपूर्ण विरोध गर्ने अधिकार सबैलाई भए पनि संविधान र गणतान्त्रिक व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधि सह्य हुने छैन’ मन्त्री गुरुङले भने, ‘राजतन्त्रको अब पुनरागमन हुने सम्भावना छैन ।’
उनले प्रविधिको गलत प्रयोगले मुलुकको सामाजिक सद्भाव, लोकतान्त्रिक संस्था र आम जनतालाई असर गरिरहेको भन्दै यस्ता प्रवृत्तिविरुद्ध सरकार सतर्क बनेको बताए ।