कर छुटको लोभमा अमेरिकासँग चीनविरोधी सम्झौता गर्ने देशलाई चीनको चेतावनी ‘चुप लाग्ने छैन’

काठमाडौँ । चीनले अमेरिकासँगको व्यापार युद्धमा अन्य देशहरूले चीनविरुद्ध सम्झौता गरेमा ‘दृढ र पारस्परिक’ प्रतिउत्तर दिने चेतावनी दिएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै अन्य राष्ट्रहरूलाई अमेरिकी दबाबमा चीनको हानि हुने गरी सम्झौता नगर्न आग्रह गर्दै त्यस्तो भए कडा कदम चालिने स्पष्ट पारेको हो ।
हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार असन्तुलनलाई सन्तुलित गर्न विश्वभरका व्यापार साझेदारहरूलाई चीनसँगको व्यापार सीमित गर्न दबाब दिइरहेका छन् । बद्लामा ती देशहरूलाई अमेरिकी ट्यारिफ छुट दिने प्रस्ताव गरिएको छ । यसै सन्दर्भमा चीनले अरूको स्वार्थका लागि चीनको हितमाथि सम्झौता गर्नु ‘टाइगरको छाला खोज्नु’ सरह भएको प्रतिक्रिया दिएको छ ।
‘अरूको हितलाई बेवास्ता गर्दै अस्थायी स्वार्थको पछि लाग्नु अन्ततः दुबै पक्षका लागि हानिकारक हुन्छ’ मन्त्रालयको वक्तव्यमा उल्लेख छ । हाल चीनबाट अमेरिका निर्यात हुने सामानमा १४५ प्रतिशत र अमेरिका बाट चीन जाने सामानमा १२५ प्रतिशतसम्म ट्यारिफ लागु गरिएको छ । ट्रम्पले यसै महिनाबाट सबै देशहरूका लागि १० प्रतिशत ट्यारिफ लागू गर्दै चीनलाई मात्र उच्च दरमा राखेका छन् । केही देशहरूले ९० दिनभित्र ट्यारिफ छुट पाउने आशामा अमेरिकासँग वार्ता थालेका छन् ।
तर यदि ती वार्ताहरू चीनको हानि हुनेगरी अघि बढे चीन चुप लाग्ने छैन भन्ने चेतावनी दिइएको छ । चिनियाँ अधिकारीहरूले अमेरिका ‘एकपक्षीय र संरक्षणवादी’ बाटोमा लागेको भन्दै त्यसले सम्पूर्ण अन्तर्राष्ट्रिय प्रणालीलाई ‘जंगलको कानुन’ तर्फ धकेल्ने चेतावनी दिएका छन् ।