भारतीय विद्युतमन्त्री खट्टर काठमाडौं आइपुगे

९ बैशाख २०८२, मंगलवार १०:००

काठमाडौं । भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा दुईदिने भ्रमणका लागि मंगलबार बिहान काठमाडौं आइपुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खट्टरलाई उर्जा सचिव सुरेश आचार्य, सहसचिव सन्दीपकुमार देव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतले स्वागत गरेका थिए।

भ्रमणका क्रममा मन्त्री खट्टरले भारतद्वारा संखुवासभामा निर्माण गरिएको अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गतको पावर हाउस तथा बाँध क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ।

आज साँझ काठमाडौंमा आयोजना हुने लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसम्बन्धी सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा पनि खट्टरको उपस्थिति रहनेछ।

भोलि विहान मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको भ्रमण गर्ने र त्यहाँबाट फर्केपछि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम समेत रहेको छ।

त्यसपश्चात प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने तय गरिएको छ।

भ्रमण सम्पन्न गरी मन्त्री खट्टर भोलि साँझ नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*