अमेरिकाले एमसीसी सधैंका लागि बन्द गर्ने, नेपालसहित २० देशका परियोजना प्रभावित

काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। संघीय खर्च घटाउने उद्देश्यले अमेरिकी सरकारको दक्षता विभागले यो निर्णय गरेको जनाइएको छ।
मंगलबार एमसीसीका कर्मचारीलाई पठाइएको इमेलमा संस्था बन्द हुने, कार्यक्रमहरू समाप्त हुने र कर्मचारी कटौती गरिने उल्लेख छ। साथै स्वैच्छिक अवकाश वा राजीनामा कार्यक्रममार्फत कर्मचारीहरूलाई संस्थाबाट विदा गरिने जानकारी दिइएको छ। यसमा सहभागी हुनका लागि २९ अप्रिल २०२५ सम्मको समयसीमा दिइएको छ।
यो बन्द प्रक्रिया ९० दिनभित्र सम्पन्न हुने र यसले २० देशमा चलिरहेका ५.४ अर्ब अमेरिकी डलरभन्दा बढीको अनुदान परियोजना प्रभावित गर्नेछ। नेपालमा एमसीसी अन्तर्गत सडक सुधार, अन्तरदेशीय प्रसारण लाइन र सबस्टेसन निर्माण जस्ता पूर्वाधार परियोजनाहरू कार्यान्वयनमा छन्। एमसीसी बन्द भएपछि यी योजनाहरूमा बाधा पर्ने निश्चित देखिन्छ।
विभाग प्रमुख एलन मस्कले यो कदमबाट अमेरिकी सरकारको खर्च अझ व्यवस्थित र प्रभावकारी हुने बताएका छन्। तर अन्तर्राष्ट्रिय सहयोग र विकासमा यसको नकारात्मक दीर्घकालीन असर पर्ने चिन्ता पनि विभिन्न निकायहरूले व्यक्त गरेका छन्।