नेपालमा एमसीसी परियोजना नरोकिने

१२ बैशाख २०८२, शुक्रबार १५:२५

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेका कार्यक्रमहरू यथावत् रुपमा अगाडि बढ्ने भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सेनेगल, मंगोलिया, आइभोरी कोस्टसहित नेपालमा एमसीसी परियोजना रोकिने छैन।

अमेरिकी प्रशासनको खर्च कटौती योजनाअनुसार एमसीसी अन्तर्गतका केही देशमा कार्यक्रम स्थगित गरिने तयारी थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र एलन मस्कले नेतृत्व गरिरहेको अमेरिकी सरकारी दक्षता विभागले एमसीसीका कर्मचारीलाई परियोजना समापनका सन्दर्भमा जानकारीसमेत गराएको थियो।

तर गत मार्च २१ (चैत ८) मा अमेरिकी सरकारले औपचारिकरूपमा नेपालसहित चार देशमा परियोजना नरोकिने स्पष्ट पार्दै पत्र पठाएको थियो। सो पत्रपछि एमसीसी अन्तर्गतका कामहरूमा कुनै रोकावट नआउने सुनिश्चित भएको हो।

हाल एमसीसी नेपालमार्फत प्राप्त हुने कुल ५० करोड अमेरिकी डलरमध्ये करिब ३९ करोड ८० लाख डलर केवल विद्युत प्रसारण लाइन निर्माणमा खर्च हुने तय भइसकेको छ। उक्त योजनाअन्तर्गत ठेक्का प्रक्रिया पनि सम्पन्न भइसकेको छ।

नेपालले सन् २०१७ मा अमेरिका संग मिलेर एमसीसी सम्झौता गरेको थियो भने, प्रतिनिधिसभाले यसलाई सन् २०२२ मा अनुमोदन गरेको हो। सम्झौअनुसार परियोजना कार्यान्वयन सुरु भएको मितिबाट पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न हुनुपर्नेछ। निर्धारित समयसीमा नपुगेमा बाँकी रकम फिर्ता जान सक्ने प्रावधान रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*