दैनिक मध्यरातिसम्म छलफल, गभर्नर नियुक्ती अन्योल, आखिर के पाक्दैछ भित्र?

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीबारे सत्ता गठबन्धन दलहरुका बीचमा पटक पटक मध्यरातिसम्म छलफल हुँदै आएको छ । दैनिक जसो प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनका अर्को साझेदार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका बीचमा मध्यरातिसम्म छलफल चल्छ । हरेक छलफलपछि गभर्नर नियुक्ती छिट्टै हुने सहमति पनि हुन्छ । तर, गभर्नर नियुक्ती कहिल्यै हुँदैन ।
दुई तिहाई बहुमतको सरकार हुँदा हुँदै पनि एक थान गभर्नर नियुक्ती गर्न सत्ता गठबन्धन र प्रधानमन्त्री असफल भइरहेको छन् । दुई तिहाईको सरकारले एउटा गभर्नर नियुक्ती गर्न नसकेर दुई महिनादेखि हल्लिरहन्छ भने जनताको लागि सरकारले के गर्न सक्छ ? आम प्रश्न बनेर दलहरुका अगाडि उभिन पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको समझदारीका आधारमा निकासा दिने काँटछाँट अझै देखिएको छैन । सो कारण संसददेखि जनतासम्मले गभर्नर नियुक्तिका विषयमा सरकार र शासन व्यवस्थामाथि औला उठाइरहेका छन् ।
नेपाल राष्ट्र बैँकको गभर्नरबाट महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गत २३ चैत देखि गभर्नर पद रिक्त छ । हाल कामु गभर्नरको रुपमा डा. नीलम ढुंगानाले जिम्मेवारी सम्हाल्दै आएकी छिन् । गभर्नर नभए पनि नेपाल राष्ट्र बैंकमा डा. नीलम ढुंगाना र बम बहादुर मिश्र दुई जना डेपुटी गभर्नर रहेका छन् । नयाँ गभर्नर नियुक्तीका लागि दुई जना मध्ये एक जना डेपुटी गभर्नर उम्मेदवार हुने प्रचलित कानुनी व्यवस्था छ ।
भित्र के पाक्दैछ ?
चैत्र २३ गते भन्दा एक महिना अघि अर्थात फागुन २३ गतेबाटै नयाँ गभर्नर नियुक्ती प्रक्रिया सुरु गर्नुपर्नेमा सरकार चुक्न पुगेको छ । सरकारले गभर्नर नियुक्ती गर्न नसक्नुमा अनेकन कारण देखाए पनि औपचारिक प्रक्रिया समेत सुरु गरेको छैन । सरकारले सुटुक्क र भित्रभित्रै प्रक्रिया मिचेर गभर्नर नियुक्ती गर्न चाहिरहेको देखिन्छ ।
त्यसको लागि नेपाल राष्ट्र बैंकका निर्देशक डा. गुणाकर भट्टले दिएको राजिनामा स्वीकृत नभएको बिषयलाई कारणको रुपमा देखाउन खोजिरहेको छ ।
कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि बिहीबार पनि मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओली र कांग्रेस देउवासहितका दोस्रो तहका नेताहरूबीच लामो छलफल भएको सूत्रको दावी छ ।
बैठकमा सहभागी एक नेताका अनुसार अबको एक/दुई दिनभित्र पनि भट्टको राजीनामा स्वीकृत नगरिए विकल्पमा कांग्रेसले गभर्नरका लागि अर्को नाम अघि सार्ने समझदारी भएको बुझिएको छ । हिजो नै कांग्रेसका सभापति देउवाले केही शिर्ष नेताहरुबीच छुट्टै छलफल समेत गरेका थिए ।
‘शनिबारसम्म राजीनामा स्वीकृत भएमा डा. भट्ट नै गभर्नर बन्ने बाटो खुल्छ, नत्र उहाँको राजीनामा स्वीकृत नभएको अवस्थामा कांग्रेसले अर्को नाम प्रस्ताव गर्न सक्ने सम्भावना पनि छ,’ एक नेताले भने, ‘अर्को समझदारी वैकल्पिक व्यक्ति अघि सार्दा निजी बैंकमा काम नगरेकालाई गर्ने भन्ने भएको छ ।’
कांग्रेसले भट्टको विकल्पमा नबिल बैंकको सिईओबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानालाई अघि सार्ने चर्चा चलेको थियो । कांग्रेसका केही नेताहरू उनको पक्षमा सभापति देउवासँग केही दिनदेखि लबिङमा समेत लागिरहेका थिए।
‘निजी बैंकमा काम गरेकालाई गभर्नर बनाउँदा स्वार्थ बाझिने मात्र होइन, आर्थिक अवस्था झन् खराब मोडमा लैजान सक्ने जोखिम हुने भएकाले निजी बैंकमा काम गरेकालाई गभर्नर बनाउन हुँदैन भन्ने समझदारी पनि बनेको छ,’ बैठकमा सहभागी अर्का एक नेताले बताए ।
‘फेरि एकपटक राजीनामा स्वीकृतिका लागि आग्रह गरौँ, भएन भने तपाईँहरूले अर्को नाम अघि सार्नु होला,’ बिहीबार रातिको बालुवाटार बैठकमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। देउवाले आफू उपचारको ‘फलो अप’ मा थाइल्यान्ड जानुअघि नै प्रधानमन्त्री ओलीसँगको संवादमा राष्ट्र बैंकका निर्देशक भट्टलाई नयाँ गभर्नर बनाउन सहमति भएको जानकारी पार्टीका निकटस्थहरूसँग गरेका थिए।
भट्टले पनि दुई सत्तारूढ दलका शीर्ष नेताहरूबीच भएको सहमतिको आधारमा आफूले राजीनामा दिएको उल्लेख गरेका थिए। कांग्रेसका एक नेताका अनुसार वैशाख ३ गते दुई शीर्ष नेताबीच भएको सहमति अनुसार वैशाख ५ गते भट्टको राजीनामा आएको थियो।
भित्रभित्रै पाकिरहेको बिषय चाही गभर्नर नियुक्त गर्ने बिषयमा सरकारलाई १० तिरबाट १० थरीका मानिसहरुले चाहिने नचाहिने दवाव दिएकोले अब सरकारले सुटुक्क नयाँ मान्छे गभर्नर नियुक्त गरेर सबै खालको दवावलाई परास्त गर्ने संकेत मिलेको छ ।
उसो भए नयाँ गभर्नर को बन्छ त ? भन्ने प्रश्न पनि आइरहेको छ । त्यस्तो अवस्थामा विवाद रहित र सर्वस्वीकार्य व्यक्ति छनौट गरौं भन्नेमा दुई दलका नेताहरु पुग्न लागेको स्रोतको भनाई छ ।