तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ५४ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)

३० बैशाख २०८२, मंगलवार १०:३४

काठमाडौँ । निर्जीवन बीमा कम्पनीको मुनाफामा भारि गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो (साउन–चैत) त्रैमाससम्मको अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीको मुनाफा घट्न पुगेको हो ।

चालु आवको ९ महिनामा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ४१ करोड ३ लाख ४६ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेका हुन् । जुन गत आर्थिक वर्ष २०८०।०८१ को सोहि अवधिको तुलनामा ५४.४५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीको नाफा ५ अर्ब २९ करोड २० लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा सानिमा जिआईसी र शिखर इन्स्योरेन्सको नाफा मात्रै वृद्धि भएको देखिएको छ । १० कम्पनीको मुनाफा घटेको छ भने २ कम्पनी ऋणात्मक अवस्थामा रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा शिखरको मुनाफा १.७९ प्रतिशतले बढेर ३५ करोड ७० लाख र सानिमा जिआईसीको १६.२१ प्रतिशतले बढेर २३ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्मको अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सर्वाधिक नाफाको नम्बरमा वानमा रहेको छ । कम्पनीले ९ महिनामा ४५ करोड ३६ लाख ४ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा भने २४.०३ प्रतिशतले कम हो ।

यता, राष्ट्रिय बीमा कम्पनीको २३.३७ प्रतिशतले घटेर ३९ करोड ५६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको २.१६ प्रतिशतले घटेर ३६ करोड ९३ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४५ प्रतिशतले घटेर ३३ करोड २३ लाख, आइजिआई प्रुडेन्सियलको ४३ प्रतिशतले घटेर २६ करोड ५१ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४७ प्रतिशतले घटेर २५ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा प्रभु इन्स्योरेन्सको ४८ प्रतिशतले घटेर २० करोड २ लाख, नेपाल इन्स्योरेन्सको ३९ प्रतिशतले घटेर १७ करोड ८४ लाख, युनाइटेड इन्स्योरेन्सको ५७ प्रतिशतले घटेर ११ करोड ६१ लाख रहेको छ ।

यसअवधिमा दुई कम्पनीको नाफा ऋणात्मक रहेको छ । ओरियन्टलको १३ करोड ८३ लाख र नेशनल इन्स्योरेन्स ७२ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*