मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ, सांसद सिंहको मोबाइल नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभा सदस्य सरोज कुमार सिंहका निजी सचिव (स्वकीय सचिव) बिनोद कुमार लाल कायस्थलाई पक्राउ गरेको छ।
सांसद सिंहले विभिन्न उपभोक्ता समिति बनाएर सरकारी रकम समितिका खातामा हाल्न लगाएर पछि ति रकम निजी सचिवमार्फत आफ्नो र श्रीमतीको खातामा हालेको आरोपमा अख्तियारले पक्राउ गरेको हो।
सरकारी रकम व्यक्तिगत खातामा हालेर दुरुपयोग गरेको आरोपमा निजि सचिवलाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताएका छन्।
६५ वर्षका निजी सचिव कायस्थलाई जनकपुर उपमहानगरपालिकाबाट जेठ १२ गते दिउँसो १ बजे अख्तियारले नियन्त्रणमा लिएको हो।
साथै सांसद सरोज कुमार सिंहले प्रयोग गर्दै आएको मोबाइल लगायत विद्युतीय उपकरणहरू पनि कब्जामा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।














