सन् २०३५ सम्म भारत एसियाको दोस्रो ठूलो जीवन बीमा बजार बन्ने

काठमाडौं । एलियान्ज ग्लोबल इन्स्योरेन्स रिपोर्ट २०२५ का अनुसार भारतले सन् २०३५ सम्ममा जापानलाई पछि पार्दै एसियाको दोस्रो ठूलो जीवन बीमा बजार बन्ने प्रक्षेपण गरिएको छ।
रिपोर्टअनुसार भारतको जीवन बीमा बजारले प्रत्येक वर्ष औसत १०.५ प्रतिशतले वृद्धि गर्ने अनुमान गरिएको छ। यो वृद्धिले भारतलाई बीमा क्षेत्रमा उच्च स्थानमा र्पुयाउने विश्वास गरिएको छ।
सन् २०२४ मा भारतको कुल बीमा प्रिमियम १४५ अर्ब अमेरिकी डलर पुगेको थियो। यसमा जीवन बीमाले करिब ७५ प्रतिशत हिस्सा ओगटेको छ। २०२३ मा ७.७ प्रतिशतले वृद्धि भएको जीवन बीमा क्षेत्रले २०२४ मा अझै राम्रो प्रदर्शन गर्दै १०.६ प्रतिशतको वृद्धिदर देखाएको छ। स्वास्थ्य बीमामा पनि २०.८ प्रतिशतको वृद्धि भएको छ।
रिपोर्टमा चीन अझै पनि एसियाको सबैभन्दा ठूलो जीवन बीमा बजार बन्ने अनुमान गरिएको छ। चीनको बीमा बजारले २०२५ देखि २०३५ सम्ममा वार्षिक ७.८ प्रतिशतले वृद्धि हुने भनिएको छ। तर भारतलाई ‘वास्तविक वृद्धिको नायक’ भनेर चित्रण गरिएको छ।
बीमा मात्र नभएर भारतको समग्र अर्थतन्त्र पनि तीव्र गतिमा अघि बढिरहेको छ। नीति आयोगका प्रमुख बी.वी.आर सुब्रह्मण्यमका अनुसार भारतले जापानलाई उछिन्दै अहिले विश्वकै चौथो ठूलो अर्थतन्त्रको स्थान हासिल गरिसकेको छ।
एसएन्डपी ग्लोबल मार्केट इंटेलिजेन्सको अनुमानअनुसार भारत २०३० भित्रै जापानलाई उछिन्दै एसियाको दोस्रो ठूलो अर्थतन्त्र बन्नेछ। त्यो बेला भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) ७.३ ट्रिलियन अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ।