आज करिव २० खर्बको बजेट आउँदै, के–के छन् प्राथमिकता ?

काठमाडौं । आगामि आर्थिक वर्ष २०८२/०८३ को वजेट आज आउँने भएको छ । सरकारले आज अपरान्ह तीन वजे करिव २० खर्बको बजेट ल्याउन लागेको हो । दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले वजेट प्रस्तुत गर्ने कार्यसुचि तय भएको छ ।
स्रोतका अनुसार करिब २० खर्ब रुपैयाँको आकारमा बजेट ल्याउन लागिएको हो। राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि करिब १९ खर्बको बजेट सिलिङ दिएको भए पनि मध्यकालीन खर्च संरचना र स्रोत समितिले २० खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको हो। अर्थ मन्त्रालयका अनुसार नयाँ योजना थप नगरीकन, जारी योजना सम्पन्न गर्ने दिशामा बजेट केन्द्रित हुनेछ।
यस पटकको बजेटमा सामाजिक सुरक्षा कार्यक्रमलाई परिस्कृत गरिने र कृषिलाई व्यवसायीक बनाउने कार्यक्रम प्राथमिकतामा राखिएको छ। सरकारले वृद्धभत्ताको उमेर हद ६८ बाट बढाएर ७० वर्ष पुर्याउने निर्णय समेत गरेको छ। साथै, सरकारी कर्मचारीको तलब वृद्धि पनि हुने भएको छ।
आर्थिक उत्पादनलाई प्रोत्साहन गर्न उद्योगको कच्चा पदार्थ सहज रुपमा उपलब्ध गराउने नीति बजेटमा समेटिएको छ। नवउद्यम र स्वरोजगारका कार्यक्रमलाई समेत बजेटले प्राथमिकता दिने बताइएको छ। स्टार्टअप र सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनमा विशेष जोड दिइने भएको छ।
सरकारले आर्थिक रोजगार दशक र कृषि लगानी दशकलाई विशेष प्राथमिकता दिनेछ। त्यस्तै, मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा ग्रीन इकोनमिक बेल्ट घोषणा गर्ने योजना बजेटमा समेटिनेछ। कृषिजन्य वस्तुको निर्यात प्रवर्द्धनका लागि आवश्यक नीति लिने तयारी छ।
बाँझो रहेको करिब १० लाख हेक्टर जमिनमा उत्पादन बढाउन सामूहिक र करार खेतीको व्यवस्था गरिनेछ। त्यसका लागि कृषि प्रयोगशालाको क्षमता विकास गरिने र उच्च मूल्यका कृषि उपजको उत्पादनका लागि पकेट क्षेत्र तोकिनेछ।
औद्योगिक उत्पादन बढाउन निर्माणाधीन औद्योगिक ग्राम समयमै सम्पन्न गर्न पर्याप्त बजेट छुट्याइनेछ। त्यस्तै, रुग्ण सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारीमा सञ्चालन गर्ने नीति लिइनेछ। साथै, नदीजन्य निर्माण सामग्रीको उत्पादन र बिक्री व्यवस्थापनसम्बन्धी प्रावधान पनि बजेटमा समेटिने अर्थ स्रोतले जनाएका छन्।