अर्थमन्त्री पौडेलद्वारा आर्थिक सर्वेक्षण संसदमा पेश : लगानी, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति

१५ जेष्ठ २०८२, बिहीबार १३:५५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै मुलुकको लगानी, पूर्वाधार विकास, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा भएको प्रगतिका आँकडा सार्वजनिक गरेका छन्।

उनका अनुसार उद्योग विभाग र लगानी बोर्ड नेपालमार्फत हालसम्म ४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भइसकेको छ। वैदेशिक तथा आन्तरिक लगानी आकर्षित गर्न सरकारले आवश्यक नीतिगत सुधारका साथै पूर्वाधार निर्माणमा जोड दिइएको जनाइएको छ।

सडक पूर्वाधारमा उल्लेखनीय विस्तार भएको भन्दै मन्त्री पौडेलले देशभर वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्या सडक सञ्जालमा समेटिएको र स्थानीय तथा राष्ट्रिय गरी कुल ३६,१३२ किलोमिटर सडक सञ्जाल विस्तार भइसकेको जानकारी दिए।

सूचना प्रविधिको क्षेत्रमा पनि महत्वपूर्ण प्रगति भएको छ। मन्त्री पौडेलले बताएअनुसार, इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२ प्रतिशत घरधुरीमा इन्टरनेट सेवा पुगेको छ।

शिक्षा क्षेत्रमा पनि सुधार देखिएको छ। शैक्षिक सत्र २०८१ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर ९४.१ प्रतिशत पुगेको छ भने माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्ना दर ५५.८ प्रतिशत पुगेको उल्लेख गरिएको छ।

स्वास्थ्य क्षेत्रमा पनि सरकारको पहल प्रभावकारी भएको देखिन्छ। चालु आर्थिक वर्षको फागुनसम्ममा ३७,९८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मिर्गौलासम्बन्धी रोगको निःशुल्क औषधिसहित उपचार सेवा प्राप्त गरेका छन्। यी सेवाहरू स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा योजनामार्फत प्रदान गरिएको हो।

त्यस्तै, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३७ लाख ६ हजार ३८९ पुगेको अर्थमन्त्री पौडेलले जानकारी गराए। वृद्ध, एकल महिला, बालबालिका, अपांगता र दलित समुदायलाई लक्षित सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने सरकारको प्राथमिकता रहेको उनले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*