धितोपत्र बजारमा साना लगानीकर्ताको उपस्थिति बढ्दो, दोस्रो बजारको कारोबार १४ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म धितोपत्र बजारमा साना लगानीकर्ताको उपस्थिति उल्लेखनीय रुपमा बढेको देखिएको छ।
सर्वेक्षणमा उल्लेख भएअनुसार, फागुन मसान्तसम्म धितोपत्रको प्राथमिक बजारमार्फत रु. २४ अर्ब ९२ करोड बराबरको पुँजी परिचालन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.२८ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा रु. ३३ अर्ब ८० करोडको पुँजी परिचालन भएको थियो।
साधारण शेयरको प्राथमिक निष्काशनबाट रु. १ अर्ब २ करोड, हकप्रद शेयरबाट रु. ९ अर्ब ३० करोड, थप शेयर निष्काशनबाट रु. ११ करोड, ऋणपत्रबाट रु. ३ अर्ब ३० करोड र म्युचुअल फण्डबाट रु. ११ अर्ब २० करोड पुँजी परिचालित भएको छ।
पुँजी बजारमा उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्द्धन गर्न वैकल्पिक लगानीको रूपमा विशिष्टीकृत लगानी कोषको विकास तथा सञ्चालन गरिएको उल्लेख गरिएको छ। प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल जस्ता कोषहरू पुँजी बजारको दायरामा समेटिएका छन्।
२०८१ फागुनसम्म वैकल्पिक लगानी कोषको कोष व्यवस्थापन गर्न अनुमति पाउने संस्था १३ पुगेका छन्। स्वीकृत कोष व्यवस्थापकले विभिन्न योजनामार्फत रु. २ अर्ब ५० करोडको योजनासहित हालसम्म रु. ३३ अर्ब पुँजी परिचालन गरेका छन्।
यसबाहेक, फागुन मसान्तसम्म रु. १४ अर्ब ५५ करोड बराबरको बोनस शेयर धितोपत्र बोर्डमा सूचीकृत भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु. १४ अर्ब ९५ करोड रहेको थियो।
धितोपत्र दोस्रो बजारमा कारोबार उल्लेखनीय रुपमा बढेको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दोस्रो बजारमा कुल रु. १४ खर्ब ५५ अर्ब ८६ करोड बराबरको कारोबार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा मात्र रु. ४ खर्ब १५ अर्ब ७८ करोड थियो।