संस्थागत तथा संरचनागत सुधारका कारण पछिल्लो पाँच आर्थिक वर्षमा बीमाको दायरा फराकिलो हुँदै

१५ जेष्ठ २०८२, बिहीबार १४:३९

काठमाडौं । संस्थागत तथा संरचनागत सुधारका कारण पछिल्लो पाँच आर्थिक वर्षमा बीमाको दायरा फराकिलो हुँदै गएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् । उनले आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।

वैदेशिक रोजगार म्यादी जीवन बीमाको दायरा बढेसँगै २०८१ फागुनसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमासहित ४४.१७ प्रतिशत जनसङ्ख्यामा जीवन बीमाको पहुँच पुगेको छ । २०८१ असारसम्म यस्तो पहुँच ४३.२७ प्रतिशत जनसङ्ख्यामा पुगेको थियो ।

.२०८१ फागुनसम्म जीवन बीमा शुल्क रु. १ खर्ब ९ अर्ब ४४ करोड र निर्जीवन बीमा शुल्क रु. २८ अर्ब ६१ करोड गरी कुल बीमा शुल्क गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा १०.६ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ३८ अर्ब ५ करोड पुगेको छ । २०८१ फागुनसम्म सक्रिय बीमा लेखमध्ये जीवन बीमातर्फको सङ्ख्या १ करोड ४२ लाख ३८ हजार ६ सय ४८ र निर्जीवन बीमातर्फ २० लाख ७३ हजार ४६३ रहेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म जीवन बीमातर्फ १ लाख ८१ हजार २ सय २१ बीमादाबीअन्तर्गत रु. ४१ अर्ब ८० करोड रकम बराबरको दाबी भुक्तानी भएको छ । त्यसैगरी, निर्जीवन बीमातर्फ ८७ हजार ८ सय ९६ बीमादाबी अन्तर्गत रु. १४ अर्ब १० करोड रकम बराबरको कुल दाबी भुक्तानी भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*