ऋणमा डुब्दै अर्थतन्त्र: सरकारको सार्वजनिक ऋणमा वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८१ फागुनसम्म आन्तरिक ऋण रु. १३ खर्ब १५ अर्ब ५८ करोड र बाह्य ऋण रु. १३ खर्ब ६० अर्ब ४६ करोड पुगेपछि सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रु. २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ।
कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण २०८० फागुनमा ४२.० प्रतिशत रहेकोमा २०८१ फागुनमा यो ४३.८ प्रतिशत पुगेको छ।
तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण र बाह्य ऋणको अनुपात क्रमशः ४९.२ प्रतिशत र ५०.८ प्रतिशत रहेको छ भने २०८० फागुनसम्म यो अनुपात ४९.९ प्रतिशत र ५०.१ प्रतिशत थियो।
चालु आर्थिक वर्षको फागुनसम्म आन्तरिक तथा बाह्य ऋण प्राप्ति ५२.९ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ३४ अर्ब ६३ करोड पुगेको छ। त्यस्तै, खुद ऋण प्राप्ति (सावाँ भुक्तानी घटाएर बाँकी रहेको रकम) ८९.२ प्रतिशतले बढेर रु. १ खर्ब ७५ अर्ब ६५ करोड पुगेको छ।














