अर्थतन्त्र लयमा छ, निजि लगानीको उपयुक्त समयः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने क्रममा देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको दाबी गरेका छन् ।
मन्त्रिपरिषद्को बैठकमा स्वीकृत बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार आएपछि अर्थतन्त्रले लय समातेको बताएका छन् । ‘सरकार गठनपछि अधिकांश आर्थिक सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ,’ उनले भने, ‘अर्थतन्त्रको समग्र अवस्था सकारात्मक छ ।’
उनले चालु आर्थिक वर्षमा ४.६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको जानकारी दिएका छन् । ‘अर्थतन्त्रका सबै क्षेत्रहरू सकारात्मक हुने अपेक्षा छ’ पौडेलले भने, ‘बीमा सेवा क्षेत्रमा समेत उल्लेखनीय वृद्धि देखिनेछ ।’
ऊर्जाको क्षेत्रमा पनि प्रगति भएको उनले बताए । ‘विद्युत उत्पादन वृद्धि भएको छ, जसले औद्योगिक तथा घरेलु क्षेत्रमा ऊर्जा आपूर्ति सहज बनाउनेछ’ उनले बताए ।
पर्यटन क्षेत्रमा पनि सुधार देखिएको भन्दै उनले विदेशी पर्यटकको आगमन संख्या ९ प्रतिशतले वृद्धि भएको उल्लेख गरे ।
चालु खाता सन्तुलनमा समेत उल्लेखनीय सुधार भएको उनले बताए । ‘चालु खाता २१० अर्ब रूपैयाँले बचतमा गएको छ,” उनले भने, “रेमिट्यान्समा समेत उल्लेखनीय सुधार भएको छ ।’
बैंकिङ क्षेत्रमा पनि सुधार देखिएको उल्लेख गर्दै उनले कर्जाको प्रवाह तथा निक्षेप दुवैमा वृद्धि भएको बताए । ब्याजदर पनि घट्दो क्रममा रहेको जानकारी उनले दिए । ‘निजी लगानी बढाउन अहिलेको आर्थिक वातावरण अनुकूल रहेको छ’ उनले स्पष्ट पारे ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा पनि सुधार देखिएको भन्दै अर्थमन्त्री पौडेलले पूँजी बजारले उल्लेखनीय फड्को मारेको बताए ।