संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि १३ अर्ब २८ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि कुल १३ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको बजेट भाषणका क्रममा यो जानकारी दिएका हुन्।
अर्थमन्त्रीले भने, ‘हिमाल आरोही र पदयात्रीहरूका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउनेछौं र पर्यटकीय गन्तव्यहरूमा आवश्यक पूर्वाधार विकास गरिनेछ।’
नेपाल नागरिक उड्ययन प्राधिकरणको संस्थागत सुदृढीकरणका लागि पनि बजेट विनियोजन गरिएको छ। यसले प्राधिकरणको क्षमता वृद्धि गर्ने र सेवा गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
यसैगरी, त्रिभुवन विमानस्थललाई ‘बुटिक विमानस्थल’मा स्तरोन्नती गर्न आवश्यक बजेटसमेत विनियोजन गरिएको अर्थमन्त्रीले बताए। विमानस्थलको स्तरोन्नतीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूमा सुविधा थपिने विश्वास लिइएको छ।