ठूलो मात्रामा ईभी भित्र्याएका व्यापारी हिस्स, ईभीमा कर यथावतै

काठमाडौं। केही महिनादेखि नेपाली अटो बजारमा विद्युतिय सवारी साधन (ईभी) मा आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटबाट कर बढ्ने हल्ला फैलियो । लोकप्रिय हुँदै गएको ईभीमा कर वृद्धिको चर्चा उद्योगी र उपभोक्तामाझ तनावको विषय बन्यो ।
सरकार अहिले राजस्व सङ्कलनमा दबाबमा रहेको अवस्था छ। यसै कारणले विद्युतिय सवारीमा कर बढाउन सक्ने चर्चा फैलिएको थियो। खासगरी, आयातकर्ताहरूले तीव्र रूपमा ईभीहरू भित्र्याउने काम तिव्र पारेका थिए। भन्सार विभागका तथ्यांकअनुसार बैशाख महिनामा मात्र १ हजार ८९२ वटा ईभी नेपाल भित्रिएका थिए जसको मूल्य करिब ४ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ बराबर रहेको छ। जेठ महिनाको पहिलो १०–११ दिनमा मात्र करिब चार हजार वटा ईभी आयात भएको जानकारी छ। यो समय अवधिमा विशेषगरी ५१ देखि १०० किलोवाट क्षमताका कारहरू बढी भित्रिएका छन्।

रसुवाकाे टिमुरे भन्सारमा जाँचपास गर्न बाँकी ईभी गाडीहरू
तर, अर्थमन्त्री पौडेलले संसदमा भने, “विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरी वातावरण प्रदूषण न्यूनीकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन सरकारले यस्ता सवारी साधनहरूमा लगाइएको सबै प्रकारका कर र महसुल यथावत् राख्ने निर्णय गरेको छ।”
यसअघि, कर वृद्धिको हल्लाले व्यापारीहरूले सम्भवतः भविष्यमा हुने कर वृद्धिको प्रभावबाट बच्नका लागि बढी गाडी भन्सार जाँचपास गराउने काम गरेका थिए। कतिपय गाडीहरू जाँचपासको प्रक्रियामा नै रहेका थिए। तर अहिले कर यथावत् रहेको पुष्टि भएपछि ती व्यापारीहरूलाई नोक्सान हुने अवस्था सिर्जना भएको छ। किनभने उनीहरूले धेरै इभीहरु पहिले नै भन्सारमा ल्याइसकेका थिए र मूल्य वृद्धिको आशामा गरेका थिए।
ईभी बजारमा कर संरचना फेरबदल हुनसक्ने चर्चा र हल्लाले व्यवसायीहरू र उपभोक्तामाझ ठूलो हलचल ल्याएको थियो। हाल ईभी आयातमा लाग्ने करको संरचना अनुसार भन्सार महसुल र अन्तःशुल्क कर लगभग १०–१५ प्रतिशत हाराहारीमा रहेको छ।
नेपालमा ईभीहरूको लोकप्रियता दिनानुदिन बढिरहेको छ। यसको प्रमुख कारण हो वातावरणमैत्री हुनु, लामो दूरीसम्म चल्ने क्षमता र सञ्चालन खर्च कम हुनु हो । सरकार पनि जलवायु परिवर्तनसँग जुध्न र प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारीलाई प्रोत्साहन गर्दै आएको छ। यसै सन्दर्भमा, अर्थमन्त्रीले कर यथावत् राख्ने निर्णयले उद्योगलाई स्थिरता दिएको छ।
बजारमा अहिले आउने नयाँ मोडलका इलेक्ट्रिक कारहरू ग्राहकहरू माझ लोकप्रिय भइरहेका छन्। कारखाना बन्द र पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै गएपछि उपभोक्ताहरूमा विद्युतीय सवारीप्रतिको माग बढ्दो छ। यसले पनि व्यवसायीहरूलाई ठूलो मौका दिएको छ।