सिमेन्ट-सुर्ती र सौन्दर्य सामग्रीमा बढ्यो कर, कुनमा कति ?

१५ जेष्ठ २०८२, बिहीबार २०:१६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत सिमेन्ट, सुर्तीजन्य पदार्थ र श्रृङ्गार सामग्रीजस्ता उपभोग्य वस्तुमा कर वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत कर नीतिमा कडाइ गर्दै निर्माण क्षेत्रसँग सम्बन्धित सामग्री सिमेन्ट बोर्डदेखि लिएर जनस्वास्थ्यमा असर पुर्‍याउने सुर्तीजन्य वस्तु तथा विलासी सौन्दर्य सामग्रीसम्ममा कर बढाइएको घोषणा गरेका हुन्।

सिमेन्ट उद्योगमा प्रयोग हुने काठको धुलो, बाइण्डिङ केमिकल्स तथा सिमेन्ट मिसाउने सामग्रीहरूमा लागू हुने भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ। अनफायर्ड मोडिफाइड क्ले मेटेरियलमा झनै कठोर नीति अपनाउँदै ५ प्रतिशतबाट कर बढाएर १५ प्रतिशत कायम गरिएको छ। यसले निर्माण सामग्रीको लागत बढाउने अनुमान गरिएको छ, जसको असर पूर्वाधार विकास र निजी भवन निर्माण क्षेत्रमा पर्ने देखिन्छ।

त्यस्तै, स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै सरकारले सुर्तीजन्य वस्तुमा पनि उल्लेखनीय कर वृद्धि गरेको छ। फिल्टर नभएको सुर्तीको प्रति एम ७५५ रुपैयाँबाट ७७८ रुपैयाँ पुर्याइएको छ। ७० मिमिसम्मको लम्बाइ भएको सुर्तीमा प्रति एम ५२ रुपैयाँ बढाउँदै १ हजार ७९२ रुपैयाँ बनाइएको छ।

७०–७५ मिमिको सुर्तीमा पनि ७१ रुपैयाँ थपिँदा नयाँ दर २ हजार ४४१ रुपैयाँ पुगेको छ भने ७५–८५ मिमिकोमा १५३ रुपैयाँ थप गरेर ३ हजार २१३ रुपैयाँ कायम गरिएको छ। ८५ मिमिभन्दा बढी लम्बाइ भएको सुर्तीमा भने २१० रुपैयाँ बढ्दै प्रति एम ४ हजार ४१० रुपैयाँ पुगेको छ।

त्यस्तै, विलासी तथा विदेशी सौन्दर्य सामग्रीको आयात न्यूनीकरण गर्ने उद्देश्यले ट्वाइलेट श्रृङ्गार सामग्रीमा लाग्ने भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*