नेपालीको प्रतिव्यक्ति आय १ हजार ५१७ डलर, अर्थतन्त्र ६१ खर्ब नाघ्ने अनुमान

१६ जेष्ठ २०८२, शुक्रबार ०९:०८

काठमाडौं । नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष यो १ हजार ३७७.६ डलर थियो। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

सर्वेक्षण अनुसार यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान छ। प्रदेशगत रूपमा हेर्दा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहेको छ।

नेपालको कुल अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रले २५.१६ प्रतिशत, उद्योगले १२.८३ प्रतिशत र सेवा क्षेत्रले ६२.०१ प्रतिशत योगदान गर्ने अनुमान छ।

उपभोक्ता वस्तु तथा सेवाको मूल्य वृद्धिको दर (मुद्रास्फीति) ४.७२ प्रतिशत रहेको छ। चालु आवको फागुनसम्म संघीय सरकारको खर्च ४.७ प्रतिशतले र राजस्व १२.६ प्रतिशतले बढेको छ।

यस अवधिमा सरकारको घाटा १६ अर्ब १९ करोड रुपैयाँ रहेको छ यघिल्लो वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रुपैयाँ थियो। फागुनसम्म संघीय सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ जुन जीडीपीको ४३.८ प्रतिशत हो।

सर्वेक्षणअनुसार चालु आवको फागुनसम्म वस्तु निकासी ५७.२ प्रतिशत र वस्तु पैठारी ११.२ प्रतिशतले बढेको छ। वैदेशिक रोजगारीबाट आएको विप्रेषण ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

चालु खाता तथा शोधनान्तर दुवै बचतमा रहेका छन्। विदेशी मुद्राको सञ्चिति १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी मजबुत रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*