८७ वटा हाइड्रोले बेचे झन्डै २९ अर्बको बिजुली, कुनको बिद्युत बिक्री आम्दानी कति ? (सूचीसहित)

१६ जेष्ठ २०८२, शुक्रबार ११:०६

काठमाडौँ । ९ महिनामा हाइड्रोपावर कम्पनीले करिब २९ अर्बको बिजुली बेचेका छन् । नेप्सेमा सूचीकृत ८७ हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा २८ अर्ब ८१ करोड २६ लाख ६३ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका हुन् ।

यो गत आवको सोही अवधिको तुलनामा भने ११.९९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीहरुले २५ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको विद्युत बिक्री गरेका थिए ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफामा समेत उल्लेख सुधार भएको हो । चालु आवको ९ महिनामा १ अर्ब ४४ करोड १६ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा यी कम्पनीहरूको सामूहिक नाफा ऋणात्मक रूपमा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।

सूचीकृत हाइड्रोपावरमध्ये ५४ वटा कम्पनीको विद्युत बिक्री आम्दानी वृद्धि भएको छ । तर, २५ वटा भने केही घटेको छ । केही हाइड्रोपावर कम्पनीले यो वर्षदेखि उत्पादन थालनी गरेका छन् ।

चालु आर्थिक वर्षको ९ महिनामा अपर तामाकोशी हाइड्रोपावरले ४ अर्ब २७ करोड ८ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । कम्पनी सर्वाधिक विद्युत बिक्री गर्ने हाइड्रोपावरमा परेको छ । तर, उक्त विद्युत बिक्री गत वर्षको सोहि अवधिको भन्दा ३४.६० प्रतिशतले कम हो । बाढीले गर्दा आयोजना बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको हुँदा विद्युत बिक्री आम्दानी प्रभावित बन्न पुगेको हो ।

सर्वाधिक विद्युत बिक्री गर्ने दोस्रो नम्बरमा साहस उर्जा रहेको छ । पछिल्लो ९ महिनामा कम्पनीले २ अर्ब १४ करोड ३५ लाख रुपैयाँको विद्युत बिक्री गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ अर्ब २ करोड रुपैयाँको विद्युत बिक्री गरेको थियो ।

तेस्रो नम्बरमा रहेको सानिमा मिडिल तमोरले १ अर्ब ३८ करोड ३ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । गत वर्ष भने कम्पनीले विद्युत बिक्री सुरु गरि सकेको थिएन् ।

त्यस्तै, क्रमशः ग्रिन भेन्र्चसले १ अर्ब ३८ करोड, अपि पावरले १ अर्ब २८ करोड, माउन्टेन इनर्जीले ९२ करोड २७ लाख, चिलिमे हाइड्रोपावरले ८२ करोड ४९ लाख, पिपुल्स हाइड्रोपावरले ७६ करोड ९ लाख र सुपर मादी हाइड्रोपावरले ७४ करोड १२ लाख रुपैयाँ विद्युत बिक्री गरेका छन् ।

सर्वाधिक विद्युत बिक्री आम्दानी वृद्धि गर्नेमा इङ्ग्वा जलविद्युत पहिलो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीले आफ्नो विद्युत बिक्री ९९०७ प्रतिशतले बढाएर १९ करोड २६ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १९ लाख २५ हजार रुपैयाँमा सीमित रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*