अनुगमनमा परे ९ उद्योग/फर्म, उपभोक्ता ठग्ने तीन व्यवसायलाई २ लाखभन्दा बढी जरिवाना

१६ जेष्ठ २०८२, शुक्रबार १२:१७

काठमाडौँ  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन र नियमावलीको उलंघन गरेको आरोपमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका ९ वटा उद्योग तथा व्यवसायहरूमाथि कारबाही गरेको छ। बुधबार गरिएको अनुगमन निरीक्षणपछि विभागले तीन व्यवसायलाई जरिवाना तिराएको छ भने बाँकी ६ वटा फर्मलाई स्पष्टिकरणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

दस्तावेजअनुसार, विभागले चन्द्रागिरी नगरपालिका–१४ मा रहेको बागमती मोल्डिङ्ग इण्डष्ट्रिज प्रा. लि. लाई उपभोक्तालाई ठग्ने कार्य गरेको ठहर गर्दै रु. २ लाख ५ हजार जरिवाना गरेको छ। साथै, उक्त उद्योगमा रहेका वस्तुहरूको बिक्री वितरणमा समेत रोक लगाइएको छ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–३१ मा रहेको सनभ इन्टरप्राइजेज प्रा. लि. लाई रु. ५१ हजार जरिवाना गरिएको छ भने काठमाडौं–३२ स्थित नायक रिमिक्स भाँडा पसल लाई रु. २० हजार जरिवाना तिराइएको छ।

विभागका अनुसार यी तीन व्यवसायमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत दफा ३८ र ३९ अनुसारको कसुर लागेको हो। बागमती मोल्डिङ्गलाई दफा ३८(ङ) र ३९(१)(ख), सनभ इन्टरप्राइजेजलाई ३८(ट) र ३९(१)(घ) तथा नायक रिमिक्सलाई ३८(ड) र ३९(१)(ङ) अनुसार कारबाही गरिएको हो।

यसैबीच, बाँकी ६ वटा व्यवसायलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। ती व्यवसायहरूमा म्याजेस्टीक कलरस (प्रिन्टी क्लिक), तारा गाउँ क्यान्टिन, आर. डि. स्टोर्स, एम. एन. ट्रेडर्स, न्यू आनन्द ट्रेड हाउस प्रा. लि. र के एण्ड के मोबाइल हब प्रा. लि. परेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*