सांसदकै नाममा योजना छैन, जनमुखी बजेट ल्याएका छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थपरक रहेको दाबी गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकारले उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। बजेट सार्वजनिक गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै उनले बजेटले आर्थिक स्थायित्व, निजी क्षेत्रको विश्वास र विकासको गति तीनै पक्ष समेट्ने प्रयास गरेको बताए।
उनका अनुसार बजेट अनुमानमा आधारित नभई स्पष्ट कार्यनीति र कार्यक्रममार्फत अगाडि बढ्ने दस्तावेज हो। ‘बजेट कार्यान्वयनको विषय हो, जसमा आर्थिक वर्षभर छलफल हुन्छ। हामी त्यसको कार्यान्वयनमै सफलता देख्न चाहन्छौं’ उनले स्पष्ट पारे।
उनले आर्थिक वर्षभर बजेट कार्यान्वयनको अनुगमन र आवश्यक संशोधनको सम्भावना खुला रहेको उल्लेख गरे।
पौडेलले विद्युतीय सवारी (ईभी) मा सरकारले कर दर यथावत राख्ने निर्णयलाई सहि भएको भन्दै गर्वको विषय भएको बताए। ‘सबैले भन्नुभएको छ ईभीबारे सरकारले सही निर्णय गरेको छ। म गर्व गर्छु’ उनले भने। तर, उनले व्यवसायीहरूले कर बढ्ने डरले हजारौं ईभी गाडी आयात गरेका थिए ।
निर्यात अनुदानका सम्बन्धमा पौडेलले सन्तुलित दृष्टिकोण अपनाइएको बताए। ‘घाटी हेरेर हाड निल्ने योजनामा छौं’ उनले भने, ‘सो अनुसार काम गर्ने योजना बनाएका छौं।’
उनले बजेटमा सांसदका लागि नेतामुखी योजना नरहेको स्पष्ट पारे। ‘सांसदको नाममा कुनै योजना छैन। हामीले नेतामुखी योजना दिएका छैनौं’ भन्दै उनले पत्रकारहरूलाई सांसद योजनाबारे खोज अनुसन्धान गर्न पनि आग्रह गरे।
वृद्धभत्ता पाउने उमेर ७० वर्ष बनाउने निर्णयको विषयमा अर्थमन्त्रीले आर्थिक सुधार समितिको प्रतिवेदनको सिफारिसको आधारमा यस्तो निर्णय गरिएको जानकारी गराए। ‘आर्थिक गतिविधिका आधारमा उक्त प्रतिवेदनले भूमिका खेलेको हो’ उनले भने।
उनले बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूलाई पूर्ण तयारीसहित अघि बढ्न निर्देशन दिइएको पनि बताए।