मृगौला प्रत्यारोपणपश्चात सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोहीलाई स्वास्थ्यमन्त्रीको सम्मान

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् ।
मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा बधाई ज्ञापन गरे । ‘नेपाल मात्र नभएर विश्वमै रेकर्ड कायम गर्नुभएको छ,’ मन्त्री पौडेलले भने, ‘तपाईंलाई मन्त्रालयले प्रत्यारोपण प्रवद्र्धन दूतका रुपमा नियुक्त गर्नेछ ।’
मन्त्री पौडेलले अझै पनि मष्तिष्क मृत्यु पश्चात दान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्दै शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने विश्वास गरे ।
‘मष्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका छौं,’ उनले भने, ‘यसले अंग अभावमा ज्यान गुमाउन बाध्य धेरैको जीवनरक्षा हुने आशा छ ।’
स्वास्थ्यमन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरुको स्वास्थ्य बीमा नभएको भन्दै उनीहरुको बीमाका लागि पहल गर्ने घोषणा समेत गरे ।
आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको बढाए ।‘मैले मृगौला प्रत्यारोपण गरेको दुई वर्षभित्रै आरोहण थालेको थिएँ,’ उनले भने, ‘आफ्नो ज्यान बचाउने अस्पताललाई दिएको बाचा ज्यानको बाजी राखेर पूरा गरें ।’