सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीको एक करोड बढी गैरकानूनी सम्पत्ति, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीमाथि एक करोड रूपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको छ।
उनले मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेश सभा सदस्य) छँदा पदीय दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियारले सोडारीले सार्वजनिक पद धारण गरेको २०७४ साल माघ ७ गतेदेखि २०७९ साल फागुन १० गतेसम्मको सम्पत्ति विवरण छानबीन गरेको थियो।
उक्त अवधिसम्म वैधानिक रूपमा साढे ८५ लाख रूपैयाँ मात्रै कमाएका सोडारीले झण्डै १ करोड ९४ लाख रूपैयाँ खर्च गरेको भेटिएको छ। यसरी उनले अवैध १ करोड ८ लाख ३८ हजार रूपैयाँको स्रोत खुलाउन नसकेपछि अख्तियारले उनीविरुद्ध मुद्दा चलाएको हो।
सोडारीले गैरकानूनी रूपमा कमाएको सम्पत्ति जग्गा खरीद, घर निर्माण, उनकी श्रीमती सञ्चालक रहेको बबि मसाला उद्योगमा लगानी, बीमा प्रिमियम भुक्तानी, छोराको बिबाह र निर्वाचनमा समेत खर्च गरेको अनुसन्धानमा खुलेको छ।
साथै उनले आफ्नो हैसियतभन्दा निकै अमिल्दो, अस्वाभाविक र उच्चस्तरको जीवन यापन गरेको दाबी समेत अख्तियारले गरेको छ।
सोडारीले आर्जन गरेको गैरकानूनी सम्पत्ति केही उनकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा समेत रहेको पाइएपछि अख्तियारले सम्पत्ति जफतका लागि उनीहरूलाई समेत प्रतिवादी बनाएको छ।
पूर्वमुख्यमन्त्री सोडारीमाथि भने अख्तियारले १ करोड ८ लाख ३८ हजार बिगो कायम गरेर २ वर्षसम्म कैद र जरीवाना, झूटो विवरण दिएको कसूरमा तीन महीनासम्म कैद र १० हजारसम्म जरीवाना र उच्च पदाधिकारी भएर भ्रष्टाचार गरेकाले थप ३ वर्ष कैदको माग गरेको छ।











