जेलबाट छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अदालतका दुई कर्मचारीविरुद्ध मुद्दा

२२ जेष्ठ २०८२, बिहीबार १२:०८

काठमाडौं । जेलमा थुनिएका एकजना कैदीलाई सेटिङमा छुटाइदिन्छु भन्दै २ लाख घुस लिएको आरोपमा अदालतका दुईजना कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

लागुऔषध मुद्दामा परेर पुर्पक्षका लागि जिल्ला कारागार नवलपरासी (पश्चिम) मा थुनिएका एकजनालाई कैदीलाई सेटिङ मिलाएर जेलबाट छुटाइदिन्छु भन्दै २ लाख घुस लिइसकेको अवस्थामा नवलपरासी जिल्ला अदालतका कम्प्यूटर अपरेटर राम लखन बनिया पक्राउ परेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेर यस घटनाको विस्तृत अनुसन्धान थालेको थियो। अनुसन्धानमा यो घुस काण्डमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका तामेलदार (डिठ्ठा) अर्जुन पन्थीको पनि संलग्नता भएको खुलेको छ।

उनीहरू दुईजना मिलेर कारागारमा रहेका कैदीलाई उच्च अदालतमा पुनरावेदन गर्दा बुटवल इजलासबाट उपयुक्त आदेश गराई जेलबाट छुटाइदिने भनेर घुस मागेको अनुसन्धानमा खुलेको छ।

अख्तियारले बनिया र पन्थी दुवैजनालाई २ लाख रूपैयाँ बिगो कायम गरेर १ देखि २ वर्षसम्म कैद र बिगो जफत र जरीवानाको मागसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*