अमेरिकामा चार नेपाली घरभित्रै मृत भेटिए

२४ जेष्ठ २०८२, शनिबार १०:०२

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली घरधित्रै मृत भेटिएका छन् । एनबीसी वाशिंटनका अनुसार मृत फेला परेकाहरुमा दुई जना बालबालिका र दुई जना वयस्क रहेका छन् ।

घटना बिहीबार राति भएको हो । मृत्यु हुनेहरुमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ र उनका दुई सन्तान २ वर्षीय छोरा र ८ वर्षीया छोरी रहेका छन् ।

घरको तल्लो तलामा बस्ने उनीहरुसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जाँच गर्दा चारै जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ ।

मनासस पार्क प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानअनुसार घटना हत्या गरिएको वा आत्महत्या हुनसक्ने बताएको छ । तर, कसले गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएको छैन ।

उनीहरु लानाए लेनको ९४०० ब्लकको अपार्टमेन्टमा बस्दै आएका थिए । प्रहरीले अपार्टमेन्टमै मृत अवस्थामा फेला पारेको थियो ।

उनीहरुमाथि गोली प्रहार गर्नेको तीव्र खोजी र घटनाबारे बिस्तृत अनुसन्धान सुरु भइसकेको प्रहरीले दाबीसमेत गरेको छ । ‘आत्महत्या वा हत्या भएकोबारे कारण यकिन गर्न सकिएको छैन । हामी अनुसन्धानमा जुटेका छौं,’ प्रहरीले विज्ञप्तिमार्फत भनेको छ, ‘घटनास्थलमा एउटा बन्दुकसमेत फेला परेको थियो । शवहरु मनाससको मेडिकल एक्जामिनरको कार्यालयमा राखिएको छ ।’

गत वर्ष भर्जिनियामै नेपाली महिला ममता काफ्लेको मृत्यु भएको थियो । ममताको मृत्यु आशंकामा उनको पति नरेश भट्टविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । प्रहरीले नरेशमाथि निरन्तर अनुसन्धानसमेत गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*