सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णप्रसाद पौडेलले सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएको बताएका छन्।
नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सवको अवसरमा ललितपुरको खुमलटारस्थित बोर्डको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
सरकारले प्रस्तुत गरेको बजेटले पनि सरकार पूँजी बजारप्रति सकारात्मक भएको देखाएको भन्दै ‘धितोपत्र बोर्ड कुनै प्रभाव र दबाबमा पर्न नहुने’ बताए।

‘बोर्ड इन्साइडर ट्रेडिङको विरुद्ध हुनुपर्छ’ भन्दै बोर्डले पनि सोही अनुसार काम गर्ने अपेक्षा रहेको बताए। उनले पूँजी बजारमा नयाँ इन्स्ट्रुमेन्ट भित्रिनुपर्ने बताए।
त्यस्तै मन्त्री पौडेलले धितोपत्र बजारलाई प्रभाव र दबाब पार्न खोज्ने तत्वहरू सक्रिय रहेको बताउँदै बोर्ड यसबाट सचेत हुनुपर्ने धारणा व्यक्त गरे।
साथै उनले शेयर बजारमा इन्साइडर ट्रेडिङ गर्नेलाई धितोपत्र बोर्डले कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।











