सीसीक्यामेरा बन्द गरेर ३ हजार लिटरभन्दा बढी डिजेल हिनामिना, पाँचजना विरुद्ध मुद्दा

काठमाडौं । नेपाल आयल निगमको गगनगौंडा प्रादेशिक कार्यालयको डिपोबाट ३ हजार लिटरभन्दा बढी डिजेल हिनामिना गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
डिपोको सीसीक्यामेरा नै बन्द गरेर ३ हजार ३८ लिटर डिजेल हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरंजन दाससहित ५ जना विरुद्ध मुद्दा दर्ता गरेको हो।
व्यवसायीसँग मिलेर डिपो प्रमुख दासले स्वीकृत अर्डरभन्दा बढी डिजेल हालेर पठाएको खुलेको छ। अख्तियारले अर्डरभन्दा बढी मात्रामा हालेको डिजेल बराबरको मूल्यलाई बिगो कायम गरेर मुद्दा दायर गरेको हो।
आजभन्दा करीब दुई वर्षअघि कार्यालयले व्यवसायिक पेट्रोलपम्प पश्चिमाञ्चल ट्रेडर्सबाट आएको १२ हजार लिटर डिजेलको अर्डर स्वीकृत गरेको थियो। ट्रेडर्सले १२ हजार लिटर डिजेलबापतको रकम आईपीएस मार्फत् निगमको खातामा तिरेर बिल–भौचर तयार गरेको थियो।
त्यसपछि ट्रेडर्सले बिल–भौचर सहित आफ्नो एउटा ट्याङ्कलाई डिजेल लिनका लागि डिपोमा पठाएको थियो। डिप र सिल गर्ने जिम्मेवारीमा रहेका गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटले मिलेमतो गरेर जम्मा १२ हजार लिटर डिजेल लोड गर्नुपर्नेमा १५ हजार ३८ लिटर डिजेल लोड गरेर ट्याङ्करलाई पठाइएको थियो।
स्वीकृतभन्दा बढी डिजेल बोकेर जाँदै गरेको उक्त ट्याङ्करलाई पोखरा महानगरपालिका–२७ डाँडाको नाकामा रोकेर चेकजाँच गर्दा १५ हजार ३८ लिटर डिजेल पाइएको थियो। स्वीकृत बिलमा उल्लेख भएभन्दा ३ हजार ३८ लिटर डिजेल बढी पाइएपछि अख्तियारले छानबीन थालेको थियो।
अख्तियारले अनुसन्धान गर्दा उक्त दिनको डिजलको मूल्य प्रतिलिटर १४७.६३ रुपैयाँ रहेकोमा सो अनुसार गणना गर्दा सो दिन स्वीकृत अर्डरभन्दा ३ हजार ३८ लिटर डिजेल लोड गराउँदा निगमलाई ४ लाख ४८ हजार ५२५ रुपैयाँ घाटा लागेको खुलेको छ।
यसरी व्यवासयिकसँगको मिलेमतोमा स्वीकृत अर्डरभन्दा बढी डिजेल लोड गरेर सार्वजनिक संस्था नेपाल आयल निगमको सम्पत्तिको हिनामिना र हानीनोक्सानी पुर्याएको आरोपमा अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।











