शोधनान्तर स्थिति करिव साढे ४ खर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को १० महिना अर्थात् वैशाखसम्ममा शोधनान्तर स्थिति करिव साढे चार खर्ब रुपैयाँले बचतमा रहेको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।