मेयर बालेनमाथि अख्तियारको छानविन, विशेष अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका छन् ।
आयोग स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बाहेकका अन्य कर्मचारीहरुसँग बयान लिइसकिएको छ भने अब मेयर बालेनसँग बयान लिएर मुद्दा दर्ता गर्ने अन्तिम तयारीमा पुगेको हो । सम्भवतः आज सर्वोच्च अदालतबाट वर्तमान नेतृत्वलाई निरन्तरता दिने आदेश भएको अवस्थामा अख्तियारले एक साताभित्रैमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ ।
आयोग स्रोतका अनुसार यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसँग समेत बयान लिइसकेको छ । नीतिगत रुपमा निर्णयकर्ताको भूमिकामा नरहेका सहरी योजना आयोगका अध्यक्ष राजभण्डारी र सल्लाहकार पाण्डेले विज्ञ र सहायक विज्ञमार्फत विभागीय प्रमुखलाई दबाब दिन लगाएर कर्मचारीलाई नचाहिँदो निर्णय गर्न बाध्य पारेको आरोप छ ।
मेयरको गौरव र स्वर्णिय योजनाको कार्यक्रममा भ्रष्टाचार हुने भएको देखिएको छ । सोही विषयमा अख्तियारले सूक्ष्म अध्ययन गरिरहेको छ । उच्चस्रोतका अनुसार हाल मेयर सचिवालय र सल्लाहकारको कारण आधा दर्जन योजनामा भ्रष्टाचार भएको भन्दै अनुसन्धान भइरहेको छ । त्यस्तै, सामाखुसी ठेक्कामा एक कम्पनीलाई कालोसूचीमा राखेको आरोपमा चार विभागीय प्रमुखसहित ७ जनाले बयान दिएका छन् । जसमा परियार सहित नवराज ढकाल लगायतका कर्मचारी विरुद्द अख्तियारले मुद्दा दायर गर्ने निश्चित जस्तै रहेको श्रोतको भनाई छ ।
उता, काठमाडौं महानगरपालिकाभित्रका अर्बौ रुपैयाँको खर्चमा पारदर्शिता अपनाउन नसकेको भन्दै बालेन साहसँग बयान लिने कार्य तयारी अवस्थामा पुर्याइएको बुझिएको छ । काठमाडौं महानगरमा स्वतन्त्रबाट निर्वाचित बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीका बीचमा पछिल्लो समय सम्बन्ध बिग्रेको अवस्था छ ।