जोखिम व्यवस्थापनमै चुक्यो नेपाल रिइन्स्योरेन्स, क्रेडिट रेटिङ ‘डबल ए माइनस’बाट ‘ए’ मा खस्कियो

३ असार २०८३, बुधबार ११:२७

काठमाडौँ ।  नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको साख मूल्यांकन घटाइएको छ। इक्रा नेपालले कम्पनीको जारीकर्ता मूल्यांकनलाई यसअघि रहेको ‘डबल ए माइनस’ स्तरबाट घटाएर ‘ए’ मा झारेको हो ।

साथै कम्पनीलाई यसअघि झैं ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’मै कायम राखिएको छ। नयाँ मूल्यांकनले कम्पनीका वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको जनाए पनि कम्पनीको कर्जाजन्य जोखिम अघिल्लो मूल्यांकनको तुलनामा बढेको संकेत गरेको छ।

इक्रा नेपालका अनुसार भदौं महिनामा भएको जेन–जी आन्दोलन भएको क्षति सम्बन्धी बीमा दाबीले कम्पनीको वित्तीय अवस्थामाथि ठूलो असर पारेको छ। उक्त घटनाका क्रममा कम्पनीले दंगासम्बन्धी जोखिमको ठूलो हिस्सा आफैंले धारण गरेको थियो। सन् २०२६ जनवरी मध्यसम्म कम्पनीले ११ अर्ब ५१ करोड रुपैयाँ बराबरका दाबी प्राप्त गरेको थियो जसको करिब ८६ प्रतिशत भार कम्पनी आफैंले व्यहोर्नुपर्ने अनुमान गरिएको छ।

यसबाट कम्पनीको पुनर्बीमा व्यवसायमा ठूलो नोक्सानी हुने, खुद सम्पत्ति आधारमा उल्लेखनीय गिरावट आउने, सोल्भेन्सी अर्थात् दायित्व बहन क्षमता कमजोर हुने तथा तरलता अवस्थामाथि दबाब पर्ने इक्रा नेपालको निष्कर्ष छ। यद्यपि कम्पनीको सोल्भेन्सी अवस्था अझै पनि आवश्यक स्तरमा रहने अपेक्षा गरिएको छ। पछिल्ला त्रैमासिक अवधिहरूमा लगानीबाट प्राप्त प्रतिफल लगातार घट्दै गएकाले कम्पनीको समग्र नाफा क्षमतामाथि थप दबाब पर्ने अवस्था देखिएको छ।

कम्पनीले जनवरी मध्यसम्म करिब ३ अर्ब ७० करोड रुपैयाँ दाबी भुक्तानी तथा अग्रिम दाबी भुक्तानीका रूपमा वितरण गरिसकेको छ। अन्तिम रूपमा कति रकम दाबी भुक्तानी गर्नुपर्ने हो भन्ने विषयले कम्पनीको वित्तीय तथा तरलता अवस्थामाथि पर्ने प्रभाव निर्धारण गर्ने भएकाले यो पक्षलाई प्रमुख निगरानी विषयका रूपमा हेरिएको छ।

इक्रा नेपालले कम्पनीको व्यवसायमा रहेको उच्च भौगोलिक एकाग्रतालाई पनि चिन्ताको विषय मानेको छ। कम्पनीको कुल पुनर्बीमा प्रिमियममध्ये ९० प्रतिशतभन्दा बढी हिस्सा अझै नेपालभित्रै केन्द्रित छ। सन् २०१४ देखि सञ्चालनमा रहे पनि अन्तर्राष्ट्रिय बजारमा कम्पनीको उपस्थिति विस्तार हुने क्रम अपेक्षाकृत मध्यम रहेको मूल्यांकन प्रतिवेदनमा उल्लेख छ। कम्पनीको व्यवसायिक आधार मुख्यतः नियामकीय व्यवस्थाबाट समर्थित रहेकाले आगामी दिनमा हुने कुनै पनि नियामकीय परिवर्तनलाई पनि महत्वपूर्ण जोखिमका रूपमा हेरिएको छ।

त्यसैगरी निजी क्षेत्रको पुनर्बीमा कम्पनी तथा नेपालमा सेवा प्रदान गरिरहेका स्थापित विदेशी पुनर्बीमकहरूसँगको प्रतिस्पर्धा पनि कम्पनीका लागि चुनौतीपूर्ण रहेको इक्रा नेपालको भनाइ छ।

यद्यपि कम्पनीको मूल्यांकनलाई बल पुर्‍याउने केही सकारात्मक पक्षहरू पनि रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। कम्पनीमा नेपाल सरकारको करिब ४४ प्रतिशत स्वामित्व रहेको छ भने बीमा क्षेत्रका अन्य संस्थागत लगानीकर्ताको समेत उल्लेखनीय सहभागिता छ। यही बलियो स्वामित्व संरचनाले कम्पनीप्रति विश्वास कायम राख्न सहयोग गरेको इक्रा नेपालको निष्कर्ष छ।

नेपाल सरकारले हालै कम्पनीलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिने पुनर्बीमा कारोबारको हिस्सा उल्लेखनीय रूपमा बढाउने घोषणा गरेको छ। प्रत्यक्ष हस्तान्तरणबाट प्राप्त हुने कारोबार सामान्यतया सम्झौतामार्फत प्राप्त हुने पुनर्बीमा कारोबारभन्दा बढी लाभदायक मानिने भएकाले यसले कम्पनीको आगामी प्रिमियम आम्दानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि यससम्बन्धी नियामकीय निर्देशन भने अझै जारी भइसकेको छैन।

नेपालको पुनर्बीमा उद्योग सीमित खेलाडीमा केन्द्रित हुनु, कम्पनीले विभिन्न सरोकारवालामाझ स्थापित गरेको पहुँच, ठूलो व्यवसायिक आकार तथा नियामकीय रूपमा प्राप्त समर्थनजस्ता पक्षहरू कम्पनीको मूल्यांकनका प्रमुख आधार बनेका छन्। इक्रा नेपालले आगामी दिनमा हुने कुनै पनि महत्वपूर्ण नियामकीय परिवर्तन, आर्थिक वर्ष २०२५/२६ पछिको पुनर्बीमा व्यवसाय तथा समग्र नाफा क्षमतामा सुधार ल्याउने कम्पनीको क्षमता, साथै पर्याप्त सोल्भेन्सी र तरलता कायम राख्न सक्ने अवस्थालाई मूल्यांकनका प्रमुख निगरानी विषयका रूपमा राखेको छ।

कम्पनी लिमिटेड नेपालको पहिलो पुनर्बीमा कम्पनी हो। यो कम्पनीको उत्पत्ति २०६० सालमा स्थापना गरिएको बीमा कोषबाट भएको हो। तत्कालीन माओवादी द्वन्द्वका क्रममा हुने दंगा, तोडफोड, आतंककारी गतिविधि तथा नियोजित क्षतिबाट हुने आर्थिक नोक्सानीको जोखिम व्यवस्थापन गर्न उक्त कोष स्थापना गरिएको थियो। पछि नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त कोषलाई पुनर्बीमा कम्पनीमा रूपान्तरण गर्ने निर्णय गरियो। त्यसअनुसार कम्पनी ऐन, २०६३ अन्तर्गत (२०७१ कात्तिक २१ गते) नेपाल पुनर्बीमा कम्पनी लिमिटेड स्थापना गरिएको थियो। कम्पनीले २०७१ मंसिरदेखि औपचारिक रूपमा कारोबार सुरु गरेको हो।

कम्पनीको सेयर स्वामित्वमा संस्थापक समूह र सर्वसाधारणको अनुपात क्रमशः ८४ प्रतिशत र १६ प्रतिशत रहेको छ। मुख्य शेयरधनीहरू नेपाल सरकार ४४ प्रतिशत, निर्जीवन बीमा कम्पनीहरू २७ प्रतिशत, जीवन बीमा कम्पनीहरू ६ प्रतिशत, सार्वजनिक लिमिटेड कम्पनीहरु ७ प्रतिशत र सर्वसाधारण लगानीकर्ता १६ प्रतिशत हिस्सा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*