बीमकको पुनर्बीमा निर्देशिका संशोधन, पुनर्बीमा व्यवस्थामा थप कडाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको पुनर्बीमा निर्देशिका, २०८०’ मा चौथो संशोधन गरेको छ। निर्देशिकामा पछिल्लो संशोधन २०८३/४/२४ मा भएको उल्लेख छ। निर्देशिकाको उद्देश्य जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्नु रहेको छ।
पुनर्बीमामा जोखिम विविधीकरण अनिवार्य
निर्देशिकाले बीमकलाई आफूले धारण गर्न नसक्ने वा धारण गरेपछि बाँकी रहेको जोखिमको पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको छ। पुनर्बीमा गर्दा जोखिमको विविधीकरण तथा बीमकको प्राविधिक र वित्तीय क्षमताको पर्याप्त विश्लेषण गर्नुपर्नेछ।
स्वदेशी पुनर्बीमकलाई प्राथमिकता
बीमकले पुनर्बीमा गर्दा नेपाल प्राधिकरणबाट इजाजतपत्र प्राप्त स्वदेशी पुनर्बीमक वा सम्बन्धित देशको नियामकबाट इजाजत प्राप्त गरी प्राधिकरणमा सूचीकृत विदेशी पुनर्बीमकसँग कारोबार गर्नुपर्ने व्यवस्था छ।
बाँकी पुनर्बीमाको कम्तीमा ३० प्रतिशत स्वदेशमै
निर्देशिकाअनुसार प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरेपछि बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ।
पुनर्बीमा नीतिलाई सञ्चालक समितिबाट स्वीकृति
प्रत्येक आर्थिक वर्षका लागि बीमकले आफ्नो नेटवर्थ, जोखिमांकन, पुनर्बीमा जोखिमधारण क्षमता तथा समग्र वित्तीय क्षमताका आधारमा पुनर्बीमा नीति तयार गर्नुपर्नेछ। उक्त नीति आर्थिक वर्ष समाप्त हुनुअघि सञ्चालक समितिबाट पारित गरी लागू गर्नुपर्ने व्यवस्था छ।
महाविपत्ति पुनर्बीमामा पनि जोडबीमकले आफूले जारी गर्ने बीमालेखअन्तर्गत धारण गरेको जोखिम तथा पुनर्बीमा व्यवस्थाबाट आउने अतिरिक्त जोखिमलाई ध्यानमा राखी पर्याप्त महाविपत्ति पुनर्बीमा गर्नुपर्नेछ।
रेटिङ भएका पुनर्बीमकसँग कारोबार गर्नुपर्ने
ट्रिटी पुनर्बीमा गर्दा तोकिएको न्यूनतम वित्तीय सबलता रेटिङ भएका पुनर्बीमकसँग कारोबार गर्नुपर्ने व्यवस्था छ। फ्याकल्टेटिभ पुनर्बीमाका लागि पनि न्यूनतम रेटिङ तोकिएको छ।











