नेपाल बैंकको रेटिङ यथावत्, पूँजी र नाफामा सुधारपछि हट्यो ‘नकारात्मक निगरानी’

काठमाडौँ । नेपाल बैंक लिमिटेडको जारीकर्ता (इस्युअर) रेटिङलाई इक्रा नेपालले पुनः पुष्टि गर्दै यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी’ हटाएको छ। बैंकलाई दिइएको इक्राएनपी–आईआर ए रेटिङ यथावत् राखिएको हो । जसले बैंकले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको तथा यसको कर्जाजन्य जोखिम कम रहेको संकेत गर्छ।
इक्रा नेपालका अनुसार बैंकको पूँजी पर्याप्तता र नाफा आर्जन क्षमतामा आएको सुधारका कारण ‘नकारात्मक प्रभावसहितको निगरानी’ हटाइएको हो। अघिल्लो रेटिङ समीक्षाको समयमा दबाबमा रहेको बैंकको पहिलो तहको पूँजी अनुपात सन् २०२५ जनवरी मध्यको १० दशमलव ०८ प्रतिशतबाट सन् २०२६ अप्रिल मध्यसम्म १० दशमलव ३७ प्रतिशत पुगेको छ। कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने खर्च घट्नु, नाफामा सुधार आउनु तथा सुन धितो कर्जाको हिस्सा बढेसँगै जोखिम भार कम भएकाले पूँजीको अवस्था बलियो बनेको आईसीआरएले जनाएको छ। यही अवधिमा बैंकको कर्जा करिब १५ प्रतिशतले बढे पनि जोखिम भारित सम्पत्ति भने केवल शून्य दशमलव ७ प्रतिशतले मात्र वृद्धि भएकाले पनि पूँजी पर्याप्ततामा सहयोग पुगेको उल्लेख गरिएको छ।
बैंकको नाफा कमाउने क्षमतामा पनि सुधार देखिएको छ। बैंकिङ प्रणालीभर खुद ब्याज आम्दानीको मार्जिनमा दबाब कायम रहे पनि चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाल बैंकले औसत खुद सम्पत्तिमा प्रतिफल शून्य दशमलव ९ प्रतिशत तथा खुद सम्पत्तिमा प्रतिफल करिब १० प्रतिशत कायम गरेको छ। यद्यपि यो सुधार दीर्घकालसम्म टिकाउ हुने वा नहुने विषय भने अझै हेर्न बाँकी रहेको आईसीआरएले जनाएको छ।
रेटिङमा नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व रहेको बलियो स्वामित्व संरचना, बैंकको लामो सञ्चालन अनुभव, उद्योगमा रहेको प्रतिस्पर्धी उपस्थिति तथा देशव्यापी शाखा सञ्जाललाई पनि सकारात्मक पक्षका रूपमा लिइएको छ। त्यसैगरी बैंकको निक्षेप संरचना पनि बलियो रहेको उल्लेख गर्दै शीर्ष २० निक्षेपकर्ताको हिस्सा कुल निक्षेपको करिब ८ प्रतिशत मात्र रहेको र चालु तथा बचत खातामा रहेको निक्षेपको हिस्सा करिब ६२ प्रतिशत पुगेको जनाइएको छ। यो अनुपात बैंकिङ उद्योगको औसत करिब ५२ प्रतिशतभन्दा उल्लेख्य रूपमा बढी भएकाले बैंकको स्रोत लागत कम रहनुका साथै आधार दर पनि तुलनात्मक रूपमा न्यून राख्न सहयोग पुगेको इक्राको विश्लेषण छ।
बैंकको तरलता अवस्था पनि सहज रहेको उल्लेख गर्दै सन् २०२६ अप्रिल मध्यसम्म खुद तरल सम्पत्ति अनुपात करिब ४० प्रतिशत तथा कर्जा–निक्षेप अनुपात करिब ६६ प्रतिशत रहेको जनाएको छ। यी दुवै अनुपात नियामकले तोकेको न्यूनतम तथा अधिकतम सीमाभित्र रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक स्थायित्व र नीतिगत स्पष्टताले बैंकिङ क्षेत्र तथा ऋणीहरूको सञ्चालन वातावरणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यद्यपि बैंकको सम्पत्ति गुणस्तरमा रहेको दबाब भने अझै कायम रहेको आईसीआरएले औँल्याएको छ। सन् २०२६ अप्रिल मध्यसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४ दशमलव ९६ प्रतिशत रहेको छ जुन अघिल्लो समीक्षा अवधिको ४ दशमलव ९९ प्रतिशतको तुलनामा सामान्य मात्र घटेको हो। त्यस्तै, शून्य दिनभन्दा बढी समयदेखि भुक्तानीमा ढिलाइ भएका कर्जाको अनुपात भने १८ प्रतिशतबाट बढेर करिब २० प्रतिशत पुगेकाले आगामी दिनमा थप निष्क्रिय कर्जा बढ्न सक्ने जोखिम रहेको जनाइएको छ।











