प्रभु बैंकका तत्कालीन सीईओ शेरचनसहित पाँच कर्मचारीसँग मागियो २० करोड बिगो, कस्को भागमा कति?

काठमाडौं । प्रभु बैंक लिमिटेडमा विप्रेषण (रेमिट्यान्स) कारोबार, पेश्की व्यवस्थापन तथा कर्जा प्रवाहमा अनियमितता भएको आरोपमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिराम पोखरेलसहित पाँच जना पदाधिकारीविरुद्ध बैंकिङ कसूर मुद्दामा करोडौं बिगो माग गरिएको छ।
अभियोगपत्रमा उनीहरूमाथि करोडौं रुपैयाँ बिगो कायम गर्दै कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको हो। प्रभु बैंकले प्रभु म्यानेजमेन्ट प्रा.लि. लाई विप्रेषण कारोबार सञ्चालनका लागि ६६ करोड रुपैयाँसम्म पेश्की उपलब्ध गराएको थियो। उक्त पेश्कीमा बैंकको मासिक आधार दर (बेस रेट) अनुसार ब्याज असुल गर्नुपर्ने स्पष्ट व्यवस्था रहे पनि १ हजार २८४ दिनसम्म ब्याज नलिई बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ बराबरको हानि पुर्याइएको आरोप लगाइएको छ।
अनुसन्धानबाट उक्त पेश्की रकम राफसाफ भएको देखाउन प्रचलित कानुनविपरीत गुणा एयरलाइन्सलाई १५ करोड रुपैयाँ तथा प्रभु म्यानेजमेन्टलाई २७ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको खुलेको छ। त्यसपछि सोही रकम विभिन्न खातामार्फत स्थानान्तरण (लेयरिङ) गर्दै घुमाउरो ढंगले पुनः बैंककै पेश्की चुक्ता गर्न प्रयोग गरिएको र कर्जाको समेत दुरुपयोग भएको अभियोगपत्रमा उल्लेख छ। हाल प्रभु म्यानेजमेन्टबाट असुल हुन बाँकी सावाँ ११ करोड २४ लाख ४७ हजार ३४८ रुपैयाँ तथा ब्याजसहित कुल २० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ बिगो कायम गरिएको छ।
अभियोगपत्रअनुसार तत्कालीन सीईओ अशोक शेरचन र डीसीईओ मनिराम पोखरेलमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ७(घ), दफा ८ र दफा ९(२) अन्तर्गत कसूर गरेको आरोप लगाइएको छ। उनीहरू दुवैसँग २० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ ३० पैसा बिगो दाबी गरिएको छ। साथै बिगो बराबरको जरिवाना, ऐनको दफा १५(२)(ङ) अनुसार ६ वर्षदेखि ८ वर्षसम्म कैद र बैंकको पदाधिकारी भएको आधारमा दफा १५(८) अनुसार थप १ वर्ष कैद गरी अधिकतम ९ वर्षसम्म कैद सजायको माग गरिएको छ।
त्यसैगरी तत्कालीन सहायक महाप्रबन्धक तथा चिफ रिस्क अफिसर ऋवस श्रेष्ठ र कर्पोरेट प्रोजेक्ट फाइनान्स प्रमुख दिनेश डंगोलविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐनको दफा ८ र दफा ९(२) अन्तर्गत मुद्दा दायर गरिएको छ। उनीहरूसँग ११ करोड २४ लाख ४७ हजार ३४८ रुपैयाँ बिगो दाबी गर्दै सोही बराबरको जरिवाना र ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग गरिएको छ।
यस्तै तत्कालीन चिफ ग्लोबल मार्केट अफिसर सुुजिन शाक्यविरुद्ध ऐनको दफा ९(२) अन्तर्गत कसूर गरेको अभियोग लगाइएको छ। उनीसँग ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा बिगो दाबी गरिएको छ भने बिगो बराबरको जरिवाना र ऐनको दफा १५(२)(घ) अनुसार ४ वर्षदेखि ६ वर्षसम्म कैद सजायको माग गर्दे अदालतमा मुद्दा दायर गरिएको छ।











