नौं महीनामा २२ लाख निर्जीवन बीमा पोलिसी जारी, कुन कम्पनीबाट कति?

२६ असार २०८३, शुक्रबार १३:१३

काठमाडौं । चालु आवको तेस्रो त्रैमास (चैत्र मसान्त) सम्म नेपालका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल २१ लाख ९६ हजार १४८ वटा बीमालेख जारी गरेका छन्। अघिल्लो आवको सोही अवधिमा यो संख्या २१ लाख ९२ हजार २६१ रहेको थियो। यस आधारमा चालु वर्षमा ३ हजार ८८७ वटा बीमालेख थप जारी भएको देखिएको छ।

कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा धेरै बीमालेख जारी गर्ने कम्पनी बनेको छ। कम्पनीले ९ महिनाको अवधिमा ३ लाख १३ हजार ५७९ वटा बीमालेख जारी गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको १ लाख ७४ हजार २११ को तुलनामा १ लाख ३९ हजार ३६८ ले बढी हो।

दोस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ लाख ४९ हजार ८६८ वटा बीमालेख जारी गरेको छ भने शिखर इन्स्योरेन्सले २ लाख ३८ हजार ६६७ वटा बीमालेख जारी गर्दै तेस्रो स्थानमा रहेको छ। नेको इन्स्योरेन्सले २ लाख २५ हजार २८० र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ५ हजार ५९४ वटा बीमालेख जारी गरेका छन्।

त्यसैगरी सलिको इन्स्योरेन्सले २ लाख १ हजार ८३८, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ लाख ७१ हजार ४५३, नेपाल इन्स्योरेन्सले १ लाख ६७ हजार ३४२ तथा एनएलजी इन्स्योरेन्सले १ लाख ६१ हजार ८९३ वटा बीमालेख जारी गरेका छन्।

सानिमा जिआइसी इन्स्योरेन्सले १ लाख ५ हजार २८८, प्रभु इन्स्योरेन्सले ८२ हजार ४२१, ओरियन्टल इन्स्योरेन्सले ३४ हजार २११, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २३ हजार ८३० तथा नेशनल इन्स्योरेन्सले १४ हजार ८८४ वटा बीमालेख जारी गरेका छन्।

तथ्याङ्कले केही कम्पनीहरूको बीमालेख संख्या उल्लेखनीय रूपमा बढेको देखाएको छ भने केही कम्पनीमा अघिल्लो वर्षको तुलनामा गिरावट आएको छ। सबैभन्दा ठूलो वृद्धि युनाइटेड अजोड इन्स्योरेन्समा देखिएको छ भने राष्ट्रिय बीमा कम्पनीमा सबैभन्दा धेरै गिरावट देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*