अर्थमन्त्री डा.वाग्लेले राजीनामा किन नदिने ? नैतिकता भन्दा ठूलो पद हुन्छ !

समाचार टिप्पणी
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आजको मितिसम्म अर्थमन्त्री पदमै बहाल रहेका छन् । तर, छायाँ अर्थमन्त्रीका रुपमा भौतिक मन्त्री सुनिल लम्सालले अर्थमन्त्रालयका मातहतका निकायहरु चलाइरहेका छन् । बालेन्द्र शाहको आडमा उनका सचिवालय र अन्य मन्त्रीले त्रुटी गर्ने त्यसको नैतिक अपजस डा. वाग्लेमाथि लाग्न पुगेको छ । अझै पनि अर्थमन्त्रीको कुर्सीमै टाइरहेका छन् ।
घटना नं १, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई थाहै नदिई अर्थमन्त्रालय मातहतको बीमा ऐन अध्यादेशमार्फत संशोधन भयो । त्यसमा भौतिक मन्त्रालयका सह सचिवलाई सञ्चालक बनाइयो । यसको कारण केवल भौतिक मन्त्री सुनिल लम्सालको व्यक्तिगत सनक बाहेक अन्यथा केही थिएन । त्यो हो, उनको स्वार्थ जोडिएको लुम्बिनी बिल्डर्सले बीमा कम्पनीबाट बीमा कभर नै नगर्ने बीमा दावी बापतको १० करोड रकम पाएन । अहिले बीमा प्राधिकरणको सञ्चालक समितिमा भौतिक मन्त्रालयका सह सचिवलाई सञ्चालक बनाएर गर्न खोजेको के ? बीमा प्राधिकरणको अध्यक्षको योग्यता बीमा ऐन बनाउँदा भुलवस पाँच बर्ष मात्रै अनुभव राखिएको बिषयमा अध्यादेशले आँखा देखेन तर लम्सालको मन्त्रालयको उपस्थितिलाई मात्रै अध्यादेशमा किन सम्बोधन गरियो भन्ने प्रश्न बीमा क्षेत्रमा उठेको छ । अर्थमन्त्री डा. वाग्ले कि सुनिल लम्साल प्रश्न उठेको छ ।
घटना नं २, नयाँ बजेट बनाउँदा करको दरहरुका सम्बन्धमा अर्थमन्त्रालयभित्र हुनुपर्ने छलफल लम्सालकै सेटिङमा प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीको उपस्थितिमा भन्सार विभागका कर्मचारीहरुलाई राखेर गरियो । बजेट आउनु भन्दा करिब एक महिना अघि नै करका दर र हार्मोनाईज्ड कोडसहितका टोली राखेर बैठक गरेर निर्णय गरेपछि त्यो चुहिएर व्यापारीको घरघरमा मात्रै नभई विश्वभर फैलनु सामान्य बिषय थियो । सोही चुहिएको सूचना अनुसार गाडी कम्पनीहरुले गाडी भित्राए, त्यसको अपजस डा. स्वर्णिम वाग्लेमाथि थोपरियो ।
यति ठूलो कर छली घटनाको अपजस थोपरिनु पनि स्वाभाविक नै थियो किनभने करको दर स्थीर भएका जम्मा दुई वटा मात्रै गाडी भित्राइएको थियो भने करको दरमा प्रतियुनिट ४६ लाख भन्दा बढि फरक पर्ने गाडीहरु करिब २०० थान भित्राइएको थियो । डा. स्वर्णिम वाग्लेमाथि संसदमा निर्मम प्रहार भयो । भ्रष्टाचारीको चर्को आरोप लाग्यो । तर चलखेल गर्ने अर्कैै थियो । खास अभियुक्तमाथि न छानविन न दोषारोपण उ पानीमाथिको ओभानो भइरहेको थियो ।
घटना नं ३ बजेट निर्माणको क्रममा स्वर्णिम वाग्ले उदारवादी अर्थव्यवस्था भनिरहेका थिए । तर बजेटमा शब्द परेका थिए उदारवाद विरोधी राज्य नियन्त्रित अर्थव्यवस्था । यी शब्दहरु कहाँबाट आए ? एउटा इमान्दार र एकेडेमिक व्यक्तिका लागि यो भन्दा नैतिक संकट अर्को हुन सक्छ ?
घटना नं ४ गत साता बालेन्द्र शाहले देशका उद्योगी व्यापारीहरुसँग छलफल गरे । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र सिएनआईसँग साथै शुक्रबार इप्पानसँग पनि छलफल गरे । व्यापारीहरु बालेन्द्र शाहसँग छलफल गरेको भन्दै प्रफ्ल्ल मुद्रामा अन्तरवार्ता दिइरहेका छन् । तर, ति छलफलमा अर्थमन्त्री सहभागी छैनन् । अनि घुमाउरो पारामा व्याख्या भइरहेको छ, स्वर्णिम वाग्ले निजि क्षेत्रप्रति अनुदार बालेन्द्र शाह दिलदार ! यथार्थ यही हो त ? उद्योगी व्यवसायीहरुलाई हतोत्साहित गरेर सुशासनको नाममा राज्य आतंक मच्चाउन खोज्ने तत्व त्यही मन्त्रिपरिषदभित्रकै पात्र होइन र ?
डा. स्वर्णिम वाग्लेज्यु, तपाईको विद्धतामाथिको प्रश्न भन्दा अर्थमन्त्री पद ठूलो होइन र हुनै सक्दैन । इमान्दारिता, विद्धता, नैतिकताको हरण सहेर त्यो अर्थमन्त्रालयको कुर्सी तपाईको लागि प्रिय हुन सक्दैन, भो अब राजीनामा दिएर जसले चलाउन चाहेको हो, उसैलाई उसैको नामबाट मन्त्रालय चलाउन छोडिदिँदा हुँदैन र ?











