विष्णु पौडेललाई थप ३ दिन थुनामा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आइतबार दुवै पक्षको बहस सुनेपछि विभागलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
योसँगै पौडेलविरुद्ध विशेष अदालतबाट पाँचौँ पटक थुना म्याद थप भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि विभागले उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
अनुसन्धानका क्रममा पौडेलमाथि एक व्यवसायीलाई गैरकानुनी लाभ पुर्याउन सहयोगी भूमिका निर्वाह गरेको आरोप लगाइएको छ। थुना म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा सरकारी पक्षले श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेट म्यानेजमेन्ट प्रालिले खरिद गरेको कारोबार शंकास्पद देखिएको दाबी गरेको थियो।











