त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीलाई अन्तिम बिदाइ

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो। उनको शव पीडित परिवार र सरकारबीच आइतबार भएको ९ बुँदे सहमतिपछि अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो।
नेपालीले बिहीबार राहदानी विभागको मुख्य प्रवेशद्वार नजिकै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि सुरक्षाकर्मी र स्थानीयले उद्धार गरी उनलाई तत्काल वीर अस्पताल पुर्याएका थिए। अस्पतालमा उपचारको क्रममा नै मृत्यु भयो ।
घटनापछि विभिन्न पक्षबाट छानबिन र पीडित परिवारलाई न्यायको माग उठिरहेको थियो। त्यसक्रममा सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि उनको शव परिवारलाई बुझाइएको थियो।











