वित्तिय विवरण र एजीएम एनएफआरएस १७ अनुसार परिपालना गर्न निर्देशन, लाभांश वितरणमा कडाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएफआरएस १७, २०८३ अनुसार बीमा कम्पनीहरुलाई लागू गर्न निर्देशन दिएको छ। जसमा प्राधिकरणले वित्तिय विवरण, बोनस निर्धारण र बार्षिक साधारणसभा(एजीएम)को बिषयमा केही बुँदाहरुमा नयाँ व्यवस्था थप गरेको छ ।
बीमा कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकदेखि दुई प्रकारका त्रैमासिक वित्तीय विवरणहरू तयार पादै आइरहेका छन् । सो प्राधिकरण परिपत्र अनुसार निरन्तर लागू गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ ।
तयस्तै, सहभागी बीमितहरू का लागि स्वेच्छिक लाभ निर्धारण गर्न ’जोखिममा आधारित पुँजी तथा शोधन क्षमतासम्बन्धी निर्देशिका, २०८२’ प्रयोग गरिने प्राधिकरणले व्यवस्था लागू गर्ने व्यवस्था गरिदिएको छ ।
साथै वितरणयोग्य मुनाफा ’वित्तीय विवरणसम्बन्धी निर्देशिका, २०८०’ र एनएफआरएस १७ बमोजिम प्रतिवेदन गरिएको वितरणयोग्य मुनाफा मध्ये जुन कम हुन्छ, सोही रकमलाई बुझाईने समेत जनाइएको छ ।
त्यस्तै, प्रचलित बीमा ऐन र नियमनकारी निर्देशनहरू अन्तर्गत छुट्याउनुपर्ने जगेडा कोषहरू प्राधिकरण द्वारा जारी ’वित्तीय विवरणसम्बन्धी निर्देशिका, २०८०’ मा आधारित हुने निर्देशिकामा उल्लेख गरिएको छ ।
त्यस्तै, एनएफआरएस १७ बमोजिमको सञ्चित नाफा को मौज्दात प्राधिकरणखद्वारा जारी ’वित्तीय विवरणसम्बन्धी निर्देशिका, २०८०’ मा आधारित मौज्दातभन्दा बढी भएमा, सो फरक रकम नियमनकारी जगेडा कोषमा सारिनेछ र छुट्टै कायम गरिने व्यवस्था गरिएको छ।
यद्यपि, पछिल्लो वर्षमा यदि एनएफआरएस १७ बमोजिमको सञ्चित नाफाको मौज्दात प्राधिकरणद्वारा जारी ’वित्तीय विवरणसम्बन्धी निर्देशिका, २०८०’ मा आधारित मौज्दातभन्दा कम भएमा, सो फरक रकम नियमनकारी जगेडा कोषबाट उपलब्ध भएसम्म फिर्ता गर्न सकिने जनाएको छ । प्राधिकरणद्वारा निर्णय वा स्वीकृति नभएसम्म यो जगेडा कोष लाभांश वितरण वा अन्य विनियोजनका लागि उपलब्ध नगरिने समेत निर्देशिकामा उल्लेख गरिएको छ।











